काठमाडौँ, पुस ५ गते । इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा आसिन म्यानचेस्टर सिटीले जित्दा दोस्रो र तेस्रो स्थानमा रहेको लिभरपुल र चेल्सी बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा सिटीले न्युक्यासल युनाइटेडलाई उसैको मैदानमा ४–० गोलले हरायो । लिभरपुल टोट्टनहामसँग २–२ र चेल्सी वल्भ्ससँग गोलरहित बराबरीमा रोकिएको हो ।
सिटीको सानदार जितमा रुवेन डियास, जोओ क्यान्सेलो, रियाद महारेज र रहिम स्टर्लिङले गोल गर्नुभयो । सिटीले पाँचौ मिनेटमा रुवेन डियासको गोलमा सुरुवाती अग्रता लिएको थियो । २७औँ मिनेटमा जोओ क्यान्सेलोले रियाद महारेजको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाउनुभयो ।
दोस्रो हाफमा दुई गोल थपेको सिटीका लागि ६३औँ मिनेटमा महारेजले तेस्रो गोल गर्नुभयो । ८६औँ मिनेटमा रहिमले गोल गर्दै सिटीलाई सानदार जित दिलाउनुभयो । खेलभर सिटीको दबाब झेलेको घरेलु टोली न्युक्यासलले गोलगर्न लायक अवसर बनाउन सकेन । जितसँगै शीर्षस्थानमा रहेको सिटीले १८ खेलबाट ४४ अंक बनाएको छ । पराजित न्युक्यासल १० अंक सहित १९औँ स्थानमा छ ।
दोस्रो स्थानमा रहेको लिभरपुलको ४१ अंक छ । आइतबार रातिनै भएको खेलमा लिभरपुल टोट्टनहामसँग २–२ गोलको बराबरीमा रोकिएको थियो । १० खेलाडीमा समेटिएको लिभरपुललाई बराबरीमा रोकेको टोट्टनहाम सातौँ स्थानमा छ । टोट्टनहामले १५ खेलबाट २६ अंक बनाएको छ ।
अर्को खेलमा तेस्रो स्थानमा आसिन चेल्सीले वल्भ्ससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । बराबरीसँगै चेल्सीको ३८ अंक छ । २५ अंक बनाएको वल्भ्स आठौँ स्थानमा छ । एजेन्सी