काठमाडौँ, पुस ९ गते । विभागीय टोली नेपाल पुलिस क्लब ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबसँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा शुक्रबार साँझ भएको खेलमा पुलिसले फ्रेन्ड्ससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।
प्रतिस्पर्धात्मक खेलमा पुलिसले लगातार गोलको अवसर बनाएको थियो । पुलिसको तुलनामा रक्षात्मक देखिएको फ्रेन्ड्सले पनि गोल गर्न सकेन । बराबरीसँगै पुलिसले ६ खेलबाट ६ अंक बनाएको पुलिस आठौँ स्थानमा उक्लिएको छ । तीन अंक बनाएको फ्रेन्ड्स अंक तालिकाको अन्तिममा छ ।
पुलिसका तेज तामाङ ‘म्यान अफ दी म्याच’ हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । फ्रेन्ड्सका अशिम भुसाल ‘इमर्जिङ प्लेयर’ चुनिनुभयो । उहाँले पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो ।