काठमाडौँ, पुस १० गते । दोस्रो हाफको इन्जुरी समयमा सुनिल बलले करिव २५ यार्ड टाढाबाट दर्शनीय फ्रिकिक गोल गरेपछि साविक विजेता मच्छिन्द्र क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ ।
दशरथ रंगशालामा शनिबार साँझ भएको प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रले बलियो प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलले हरायो । हारसँगै यसअघि शीर्षस्थानमा रहेको मनाङ दोस्रा स्थानमा झरेको छ ।
जितसँगै मच्छिन्द्रले एएफसी कप छनोट खेल खेल्ने सम्भावना समेत बलियो बनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको सातौँ राउन्डमा शीर्षस्थानमा रहने टोलीलाई एएफसी कप छनोट खेल्ने अवसर प्रदान गरेको छ । पराजित मनाङको पनि एएफसी कप छनोट हुने सम्भावना जिवित छ ।
करिव १० हजार दर्शकको उपस्थितमा भएको रोमाञ्चक खेलमा मनाङले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो । पहिलो हाफमा तीन वटा मौका गुमाएको मनाङ दोस्रो हाफमा त्यति जम्न सकेन । पहिलो हाफमा एउटै मात्र राम्रो मौका गुमाएको मच्छिन्द्र दोस्रो हाफमा खेलमा फर्किएको थियो ।
यसअघि ३८औँ मिनेटमा मच्छिन्द्रका नार्लान जाहितको पोस्ट् छेउको प्रहार थोरै बाहिरिएको थियो । दोस्रो हाफमा लय गुमाएको मनाङ अन्तमा हार खेप्न बाध्य बन्यो । अब सातौँ चरणमा मनाङले ब्रिगेड ब्वाइजसँग पोखरामा र मछिन्द्रले नेपाल पुलिस क्लबसँग काठमाडौैँमा खेल्नेछ ।
निर्णायक गोल गरेका मच्छिन्द्रका सुनिल बल ‘म्यान अफ दी म्याच’ चुनिनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । मनाङका विमल राना ‘इमर्जिङ प्लेयर’ घोषित हुनुभयो । उहाँले पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
जितसँगै शीर्षस्थान कब्जा गरेको मछिन्द्रले ६ खेलबाट १४ अंक बनाएको छ । लिगमा पहिलो हार खेपेको मनाङ १३ अंक सहित दोस्रो स्थानमा छ । एक खेल कम खेलेको विभागीय टोली त्रिभुवन आर्मी क्लब नौ अंक सहित तेस्रो स्थानमा छ ।
खेलपछि मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले जित्नै पर्ने खेल जितेको भन्दै खुशी ब्यक्त गर्नुभयो । ‘खेल निकै टप थियो । मनाङ बलियो टोली हो । अहिलेसम्म शीर्षस्थानमा रहेको टोलीलाई हराउन आज खेलाडीले राम्रो खेले । पहिलो हाफमा दबाब झेल्यौँ । तर अन्तिममा एउटा सुनौलो गोलले साथ दियो र हामी भाग्यमानी भयौँ । जितले एएफसी छनोट खेल खेल्ने सम्भावना बढेको छ,’ कटुवालले भन्नुभयो ।
मनाङका सहायक प्रशिक्षक राजेन्द्र तामाङले जित्नै पर्ने खेलमा अन्तिममा अनावश्यक सानो फल गर्दा गोल खान पुगेको बताउनुभयो । ‘खेलाडीले जित्नुपर्ने दबाबमा खेल्दा गाह्रो भयो । पहिलो हाफ ठिकै थियो । दोस्रो हाफमा योजना अनुसारको खेल भएन । कार्डका कारण ओलावाले अफिज नहुँदा थप समस्या भयो,’ तामाङले भन्नुभयो ।