काठमाडौँ, पुस १० गते । हिमालयन शेर्पा क्लबले शहिद स्मार ‘ए’ डिभिजन लिगमा च्यासल क्लबविरुद्ध सानदार जित निकालेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा शेर्पाले च्यासललाई ३–१ गोलले हरायो ।
शेर्पाको जितमा मुटम्बा पिस्टनले दुई गोल गर्नुभयो । अर्को गोल सुरेश कुमालले थप्नुभयो । च्यासलका रुमेश बर्तौलाले सान्त्वना गोल फर्काउनुभयो । शेर्पाका मुटम्बाले २५औँ मिनटमा खाता खोल्नुभएको थियो । ५६औँ मिनेटमा मुटम्बाले व्यक्तिगत दोस्रो गोल गर्दै शेर्पाको अग्रता दोब्बर बनाउनुभयो ।
त्यसपछि ७५औँ मिनेटमा च्यासलका रुमेशले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । तर, ८०औँ मिनेटमा सुरेशले गोल गर्दै शेर्पालाई सानदार जित दिलाउनुभयो । जितसँगै हिमालयन शेर्पा छैटौँ स्थानमा उक्लिएको छ । शेर्पाले ६ खेलबाट आठ अंक बनाएको छ । समान खेलबाट चार अंक बनाएको च्यासल रेलिगेसनको दबाबमा छ । च्यासल अंक तालिकाको १३औँ स्थानमा छ ।
दुई गोल गर्न सफल शेर्पाका मुटम्बा ‘म्यान अफ दी म्याच’ चुनिनु भयो । उहाँले १० हजार रुपियाँ पुरस्कार पनि प्राप्त गर्नुभयो । च्यासलका राजीव लोप्चन ‘इमर्जिङ प्लेयर’ घोषित हुनुभयो । उहाँले पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
लिग अन्तर्गत आजै शीर्षटोली मनाङ र साविक विजेता मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीको भिडन्त जारी लिगको उच्च स्तरको खेल हो ।