काठमाडौँ, पुस १२ गते । जावलाखेल युथ क्लबले शहिद स्मार ‘ए’ डिभिजन लिगमा सहज जित निकालेको छ । दशरथ रंगशालामा सोमबार भएको खेलमा जावलाखेलले सातदोबाटो युथ क्लबलाई २–० गोलले हरायो । ललितपुुर डर्बीमा जाउलाखेललाई जिताउन विपिन कँडेल र निकोलस फर्नान्डेसले गोल गर्नुभयो ।
दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा जावलाखेलले ५०औँ मिनेटमा खाता खोलेको थियो । अतिरिक्त खेलाडी विपिन कँडेलले ओनगुना जुनियरका पासमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाउनुभयो । कँडेलको ‘ए’ डिभिजन लिगमा डेब्यु गोल हो ।
कँडेल ४६औँ मिनेटमा सुरज ठकुरीको स्थानमा मैदान छिर्नुभएको थियो । ७०औँ मिनेटमा निकोलस फर्नान्डेसले गोल गर्दै जावलाखेललाई महत्वपूर्ण जित दिलाउनुभयो । जाउलाखेलका दुई वटा प्रहार पोलमा लागेर फर्किएको थियो । पहिलो हाफमा औसत प्रदर्शन गरेको सातदोवाटो दोस्रो हाफमा निरिह बनेको थियो ।
जावलाखेलका आनगुना जुनियर ‘म्यान अफ दी म्याच’ हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । जाउलाखेलकै रुपबहादुर लामा ‘इमर्जिङ प्लेयर’ घोषित हुनुभयो । उहाँले पाँच हजार रुपियाँ प्राप्त गर्नुभयो ।
खेलपछि जावलाखेलका प्रशिक्षक किशोर केसीले दोस्रो हाफमा केही खेलाडी परिवर्तन गर्दा गोल सम्भब भएको बताउनुभयो । ‘कँडेलले कमान्डोको भूमिका निर्वाह गरे । जितले धेरै खुशी छौं आगामी खेलमा थप सुधार गर्नेछौँ,’ केसीले भन्नुभयो ।
जावलाखेलका प्रशिक्षक मेघराज केसीले खेलाडीले खेल्न नसक्दा हार खेपेको बताए । ‘आज हामीले आफ्नो लय पुरै गुमायौँ । जावलाखेललाई हेपेर खेल्दा गाह्रो भयो । जावलाखेलले दोस्रो हाफ धेरै राम्रो खेल्यो । आगामी खेलमा सुधार नगरी सुख छैन,’ केसीले भन्नुभयो ।
लगातार दोस्रो जित निकालेको जावलाखेल नवौँ स्थानमा उक्लिएको छ । जावलाखेलले ६ खेलबाट सात अंक बनाएको छ । समान खेलबाट आठ अंक बनाएको सातदोवाटो युथ क्लब पाँचौँ स्थानमा छ ।
छैटौँ राउन्डको समाप्तिसँगै शीर्ष स्थानमा रहेको साविक विजेता मच्छिन्द्रको १४ अंक छ । दोस्रो स्थानमा रहेको मनाङको १३ अंक छ । तेस्रो स्थानमा रहेको संकटाको १२ अंक छ । रेलिगेसनको रेखामा रहेको च्यासलको चार र फ्रेन्ड्सको तीन अंक छ । लिगमा फ्रेन्ड्स जित विहिन एक्लो टोली हो ।