काठमाडौँ, पुस १४ गते । नपाली राष्ट्रिय फुटबल टोलीले अफ्रिकी देश मौरिसससँग अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले आगामी जनवरी २९ र फेब्रुअरी १ तारिख दशरथ रंगशालामा मौरिसससँग फुटबल खेल्ने पक्का भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
नेपाल र मौरिससबीचको दुवै खेललाई विश्व फुटबल महासंघ (फिफ) ले अन्तर्राष्ट्रिय म्याच क्यालेन्डरमा समावेश गर्ने समेत एन्फाले जनाएको छ । मौरिसस फिफा वरियतामा एक सय ७२औँ स्थानमा छ । नेपाल एक सय ६९औँ स्थानमा छ ।
नेपालले यसअघि गत भदौमा दशरथ रंगशालामा भारतसँग दुई वटा मूत्रीपूर्ण फुटबल खेलेको थियो । पहिलो खेलमा भारतलाई १–१ गोलको बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा नेपाल भारतसँग २–१ गोलले पराजित भएको थियो ।
मैत्रीपूर्ण खेलमा लागि शहिद स्मारक ‘ए’ डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छनोटगरी नेपाली टोली तयार पारिने एन्फले जनाएको छ । प्रशिक्षक अब्दुल्ला अल्मुताइरी नेपाली टोली सम्हाल्न मंगलबार मात्र नेपाल आइपुग्नु भएको छ । अल्मुताइरीले लिगमा खेलाडीको खेल हेरेर टोली तयार पार्नुहुनेछ । लिगमा सातौँ चरणमा खेल सुक्रबारदेखि सुरु हुनेछ ।
लिगमा छैटौँ चरणको खेल समाप्तिसँगै उपाधि होड र रेलिगेसनको दबाब थप रोचक बन्दै गएको छ । साविक विजेता मच्छिन्द्र १४ अंकसहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको मनाङको १३ अंक छ । तेस्रो स्थानमा रहेको संकटाको १२ र चौथो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको १० अंक छ ।
च्यासल र फ्रेन्ड्स रेलिगेसनको दबाबमा छन् । चार अंक बनाएको च्यासल १३औँ र तीन अंक बनाएको फ्रेन्ड्स १४औँ तथा अन्तिममा छ । ६ अंकसहित १०औँ स्थानमा रहेको नेपाल पुलिस, पाँच अंक बनाएको एपीएफ र ब्रिगेड ब्वाइज क्रमशः ११औँ र १२औँ स्थानमा छ । पुलिस, एपीएफ र ब्रिगेडलाई पनि रेलिगेसरको डर छ । १४ टोली सहभागि लिगमा अन्तिममा रहने दुई टोली ‘बी’ डिभिजनमा घटुना (रेलिगेसन) हुनेछन् ।