काठमाडौँ, पुस १७ गते । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबले जावलाखेल युथ क्लबमाथि कठिन जित निकालेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टारले जावलाखेललाई २–१ गोलले हरायो ।
ललितपुर डर्बीमा थ्रीस्टारलाई जिताउन आयुष घलान र ऋतिक कुमार खड्काले गोल गर्नुभयो । पहिलो हाफमै दुई गोल गरेको थ्रीस्टारका लागि आयुषले सातौँ मिनेटमा गोल गर्नभएको थियो । २६औँ मिनेटमा ऋतिकले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो ।
दोस्रो हाफमा खेलमा फर्किएको जाउलाखेलले ५५औँ मिनेटमा गोल फर्काएको थियो । निकोलस फर्नान्डेजले गोल गर्दै जावलाखेललाई खेलमा फर्काउने प्रयास गर्नुभयो । खेलको अन्तिमसम्म थ्रीस्टारलाई कडा टक्कर दिएको जावलाखेलले इन्जुरी समयमा राम्रो मौका गुमाएको थियो ।
गौरव श्रेष्ठको पोस्ट् छेउको हेडप्रहारलाई थ्रीस्टारका गोलरक्षकले विफल पारेपछि जावलाखेल हार खेप्न बाध्य भयो । जितसँगै सात खेलबाट १० अंक बनाएको थ्रीस्टार पाँचौँ स्थानमा उक्लिएको छ । समान खेलबाट सात अंक बनाएको जावलाखेल नवौँ स्थानमा छ ।