काठमाडौंँ, पुस १८ गते । मच्छिन्द्र क्लब एएफसी कपमा छनोट भएको छ । शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सातौँ चरणको खेलमा नेपाल पुलिस क्लबलाई १–० गोलले हराएपछि मच्छिन्द्रको एएफसी कपको प्रारम्भिक चरण खेल्ने निश्चित भएको हो ।
दशरथ रंगशालामा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रलाई जिताउन सुनिल बलले निर्णायक गोल गर्नुभयो । मच्छिन्द्रको कठिन जितमा संकट मोचक सावित बलले यसअघि मनाङ मस्र्याङ्दी क्लबबिरुद्धको खेलमा पनि दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीलाई जिताउनुभएको थियो ।
पुलिसविरुद्ध बलले २२औँ मिनेटमा हेड गोल गर्नुभएको हो । विशाल राईको लामो फ्रिकिकमा बलले अनमार्क जाली चुमाउनु भएको थियो । जारी लिगमा बलको यो पाँचौँ गोल हो । उहाँ सर्वाधिक गोल कर्ताको शीर्षस्थानमा पनि हुनुहुन्छ । जित्नै पर्ने खेल जितेपछि साविक विजेता मच्छिन्द्रले एएफसी कपसँगै लिगको उपाधि दौड पनि बलियो बनाएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) को आयोजनामा हुने महाद्वीप स्तरीय प्रतियोगिताका लागि लिग च्याम्पियन छनोट हुने प्रावधान छ । तर, अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक लिगको तालिका सार्वजनिक गर्दा एएफसी क्लब लाइसन्स प्राप्त क्लबमध्ये सातौँ राउन्डसम्म शीर्षस्थानमा रहने टोलीलाई एएफसी कपमा सहभागि गराउने निर्णय गरेको थियो ।
यसअघि २०७६ सालमा पहिलो पटक लिग च्याम्पियन बनेपनि मछिन्द्रले एफसी क्लब लाइसेन्स नहुँदा एएफसी कप गुमाएको थियो । मच्छिन्द्रको स्थानमा लिगको उपविजेताको रुपमा त्रिभुवन आर्मी क्लबले एएफसी कप खेल्ने मौका पाएको थियो ।
प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रलाई कडा टक्कर दिएको पुलिसले पनि राम्रा मौका गुमाएको थियो । रक्षात्मक रणनिति अपनाएको पुलिसले दोस्रो हाफमा काउन्टर प्रहारमा अवसर बनाएपनि गोल फर्काउन सकेन ।
निर्णायक गोल गर्नुभएका सुनिल बल ‘म्यान अफ दी म्याच’ बन्नुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । पुलिसका अन्जन राई ‘इमर्जिङ प्लेयर’ हुनुभयो । उहाँले पाँच हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो ।
खेलपछि मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले जित्ने पर्ने खेलमा जित निकाल्नु खेलाडीको मिहेनतको प्रतिफल भएको बताउनुभयो । ‘पुलिसले आज पाँचजना रक्षक राखेर बलियो चुनौती दियो । हामीले समयमै गोल गरेर पछि गोल नखाने रणनिति बनायौँ । सफल पनि भयौँ । एएफसी कपमा टोलीका राम्रा खेलाडी समावेश गरेर प्रस्तुत हुनेछौँ,’ कटुवालले भन्नुभयो ।
पुलिसका प्रशिक्षक अनन्त थापाले राम्रो खेलेपनि गोल नहुँदा हार खेप्नुपरेको बताउनुभयो । ‘खेलाडीले राम्रो खेलेको हो । लगातार मौका पनि बनाएका थियौँ । बलियो मच्छिन्द्रलाई रोक्ने रणनिति थियो । तर, एउटा सानो गल्तीले गोल खायौँ । दोस्रो हाफमा हामीले दबाब दिएपनि गोल भएन,’ अनन्तले भन्नुभयो ।
जितसँगै शीर्षस्थानमा रहेको मछिन्द्रले सात खेलबाट १७ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको मनाङको १६ अंक छ । पराजित पुलिस ६ सहित १०औँ स्थानमा छ । तेस्रो स्थानमा रहेको संकटाको १३ अंक छ ।