काठमाडौँ, पुस २० गते । शहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातौँ राउन्डको खेल सकिएसँगै सबैभन्दा उत्साही क्लब मच्छिन्द्र देखिएको छ । साविक विजेता मच्छिन्द्र एएफसी कपको लागि छनोट भएकोले पनि थप उत्साही बनेको हो ।
एसियाली फुटबल महासंघ (एएफसी) को आयोजनामा हुने महाद्वीप स्तरीय प्रतियोगितामा लिग च्याम्पियन छनोट हुने प्रावधान छ । तर, अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको तालिका सार्वजनिक गर्दा एएफसी क्लब लाइसन्स प्राप्त क्लबमध्ये सातौँ राउन्डसम्म शीर्षस्थानमा रहने टोलीलाई एएफसी कपमा सहभागि गराउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मच्छिन्द्रले पहिलो पटक एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।
मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले सातौँ राउन्डसम्मको प्रदर्शन उत्साहपूर्ण भएको बताउनुभयो । ‘अघिल्लो बर्ष लिग च्याम्पियन बनेरपनि एएफसी क्लब लाइसन्सका कारण खेल्न पाईएन । यसपटक खेल्न पाउँदा खुशी छौँ । टोलीमा राम्रा विदेशी खेलाडी समावेश गरेर बलियो चुनौती दिनेछौँ । त्योसँगै मच्छिन्द्रको लक्ष्य लिग च्याम्पियन बन्नु हो,’ कटुवालले भन्नुभयो ।
सातौँ राउन्डसम्म अगाडी देखिएको मच्छिन्द्रलाई लिगको उपाधि चुम्न अझै ६ खेलमा राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ । यद्यपी मच्छिन्द्रले अहिले लिग तालिकाको शीर्ष पाँचमा रहेका बलिया टोलीको सामना गरिसकेको छ ।
मच्छिन्द्रले मनाङ, संकटा, आर्मी र हिमालयन शेर्पाविरुद्ध खेलिसकेको छ । तुलनात्मक हिसावले मच्छिन्द्रका लागि अबका प्रतिद्वन्द्वी केही सजिलो हुने देखिएको छ । लिगमा मच्छिन्द्रसँगै संकटा र साविक उपविजेता आर्मीले अपराजित यात्रा कायम राखेका छन् ।
अहिले तालिकाको शीर्षस्थानमा हरेको मच्छिन्द्रको १७ अंक छ । मच्छिन्द्रलाई पछ्याएको मनाङ १६ अंक सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको संकटाको १३, चौथो स्थानमा रहेको आर्मीको ११, पाँचौं स्थानमा रहेको थ्रीस्टार र छैटौँ स्थानमा रहेको न्युरोड टिम (एनआरटी) को समान १० अंक छ । सातौँ र आठौँ स्थानमा रहेको सातदोवाटो र हिमालयन शेर्पाको समान आठ अंक छ । सात अंक बनाएको जावलाखेल नवौँ स्थानमा छ ।
लिगको उपाधि होडसँगै रेलिगेसन (‘बी’ डिभिजनमा घटुवा) को दबाबले पनि क्लबलाई चिन्ता थपेको छ । अहिले फ्रेन्ड्स र च्यासल रेलिगेसनको रेखामा छन् । फ्रेन्ड्स सातौँ राउन्डसम्म एउटै खेल नजित्ने एक्लो टोली हो ।
अन्तिममा रहेको फ्रेन्ड्सको तीन अंक छ । १२औँ स्थानमा हरेको ब्रिगेड ब्वाइज र १३औँ स्थानमा रहेको च्यासलको समान पाँच अंक छ । समान ६ अंक सहित १०औँ र ११औँ स्थानमा रहेका एपीएफ र नेपाल पुलिस क्लब पनि रेलिगेसनको दबाबमा छन् । लिगको अन्तिमा रहने दुई टोली रेलिगेसन हुनेछन् ।
लिगमा ४९ खेल सकिँदा कूल ९४ गोल भएको छ । सर्बाधिक गोल गर्ने खेलाडीको शीर्ष सुचीमा मच्छिन्द्रका सुनिल बल हुनुहुन्छ । बलपछि सातदोवाटोमा अजयी मार्टिन्स र एपीएफका आशिष लामाले चार चार गोल गर्नुभएको छ ।
तीन गोल गर्नेमा पुलिसका सुमन लामा, च्यासलका रुमेश वतौला, हिमालयन शेर्पाका मुताम्बा पिस्टोन, मनाङका अन्जन विष्ट तथा संकटाका निरज बस्नेत र उक्तम राई हुनुहुन्छ । आठौँ राउन्डका खेलहरु शुक्रबारदेखि सुरु हुने एन्फाले जानएको छ ।