logo
२०८१ मंसिर ८ शनिवार



रियलले जित्दा बार्सिलोना बराबरीमा रोकियो

फुटबल |
खेलकुद |


रियलले जित्दा बार्सिलोना बराबरीमा रोकियो


काठमाडौँ, पुस २५ गते । स्पेनिस ला लिगामा शीर्षटोली रियल म्याड्रिडले फराकिलो जित निकाल्दा बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई ४–१ गोलले हरायो । अर्को खेलबा १० खेलाडीमा समेटिएको बार्सिलोनाले ग्रानाडासँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।

घरेलु मैदानमा रियललाई जिताउन कप्तान करिम बेन्जेमा र भिनिसियस जुनियरले दुई दुई गोल गर्नुभयो । भ्यालेन्सियाका गोन्कालो गुइडेसले सान्त्वना गोल फर्काउनुभयो । बेन्जेमाले ४३औँ मिनेटमा पेनाल्टीमार्फत गोलको खाता खोल्नुभएको थियो । डिबक्सभित्र विपक्षी डियाखावीले क्यासमिरोलाई लडाएपछि रियलले पेनाल्टी पाएको थियो ।

त्यसपछि ५२औँ मिनेटमा भिनिसियसले गोल गर्दै रियलको अग्रता दोब्बर बनाउनुभयो । ६१औँ मिनेटमा भिनिसियसले मार्काे असेन्सियोको पासमा हेडगोल गर्दै रियलको अग्रता थप बलियो बनाउनुभयो । जारी लिगमा भिनिसियसको यो १२औँ गोल हो । उहाँ सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा हुनुहुन्छ ।

७६औँ मिनेटमा गोन्कालो गुइडेसले रिवाउन्डमा गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काउने प्रयास गर्नुभयो । गुइडेसको पेनाल्टी प्रहार गोलरक्षक थिवाउट कोर्टुवाले फर्काएपछि सोही बलमा उहाँले सोझै गोल गर्नुभएको थियो ।

८८औँ मिनेटमा बेन्जेमाले फर्लान्ड मेन्डीको पासमा ब्यक्तिगत दोस्रो गोल गर्दै रियललाई सानदार जित दिलाउनुभयो । जारी लिगमा बेन्जेमाको यो १७औँ गोल हो । सात असिस्ट समेत दिनुभएका उहाँ सर्वाधिक गोल गर्ने खेलाडीको शीर्षस्थानमा हुनुहुन्छ । रियलका भिनिसियस ‘म्यान अफ दि म्याच’ हुनुभयो । जितसँगै शीर्षस्थानमा रहेको रियलले २१ खेलबाट ४९ अङ्क बनाएको छ । रियल दोस्रो स्थानमा रहेको सेभियाभन्दा आठ अङ्कले अगाडि छ । पराजित भ्यालेन्सिया २८ अङ्कसहित नवौँ स्थानमा छ ।

यसैगरी अर्को खेलमा बार्सिलोनाले सुरुवाती अग्रता लिए पनि जोगाउन सकेन । प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाका लागि लुक डे जोङले ५७औँ मिनेटमा गोल गर्नुभयो । ७९औँ मिनेटमा गाभी दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटियो । जसको फाइदा ग्रानाडाले ८९औँ मिनेटमा बराबरी गोल गर्दै उठायो ।

ग्रानाडाका एन्टोनिओ पुयर्तासले बराबरी गोल गर्नुभएको थियो । बराबरीसँगै २० खेलबाट ३२ अङ्क बनाएको बार्सिलोना छैटौँ स्थानमा छ । २४ अङ्क बनाएको ग्रानाडा १२औँ स्थानमा छ । अर्को खेलमा रियल सोसिडाडले सेल्टा भिगोलाई १–० र लिभान्तेले मालोर्कालाई २–० गोलले हराएको छ । जितसँगै ३३ अङ्क बनाएको सोसिडाड चौथो स्थानमा छ । पराजित सेल्टा भिगो २३ अङ्कसहित १३औँ स्थानमा छ ।

जिते पनि ११ अङ्क बनाएको लिभान्ते तालिकाको अन्तिममा छ । पराजित मालोर्का २० अङ्कसहित १५औँ स्थानमा छ । विश्वकै चर्चित लिगमध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको छ । एजेन्सी 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?