काठमाडौँ, पुस २६ गते । सेभियाले स्पेनिस ला लिगामा शीर्षटोली रियल म्याड्रिडलाई पछ्याउँदै गएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा सेभियाले गेटाफेलाई १–० गोलले हरायो । सेभियाको कठिन जितमा राफा मिर नायक बन्नुभयो ।
प्रतिस्पर्धात्मक खेलमा राफा मिरले २२औँ मिनेटमा लुकास ओकम्पोसको पासमा गरेको गोल सेभियाको जितमा निर्णायक बन्यो । ६६ प्रतिशत बल पोसेसन राखेको सेभिया पहिलो हाफमा गोल गरेपछि रक्षात्मक देखिएको थियो । घरेलु टोलीलाई दबाब दिएपनि गेटाफेको गोल फर्काउने प्रयास सफल भएन ।
निर्णायक गोल गरेका सेभियाका राफा मिर ‘म्यान अफ दि म्याच’ हुनुभयो । जितसँगै सेभियाले २० खेलबाट ४४ अंक बनाएको छ । सेभियाले शीर्षटोली रियल म्याड्रिडसँगको दुरी पाँच अंकले घटाएको छ । रियलको २१ खेलबाट ४९ अंक छ । तेस्रो स्थानमा रहेको रियल बेटिसको ३४ अंक छ । पराजित गेटाफे १८ अंकसहित १६औँ स्थानमा छ ।
आइतबार रातिनै भएको अर्को खेलमा रियल बेटिस रायो भालेकानोसँग १–१ गोलको बारबरीमा रोकिएको छ । ३३औँ मिनेटमै एलेक्स मोरेनो रातो कार्ड पाउँदै बाहिरिएपछि बेटिस १० खेलाडीमा समेटिएको थियो । तरपनि पहिलो हाफको इन्जुरी समयमा सर्जिओ कानालेसले गोल गर्दै बेटिसलाई अग्रता दिलाउनुभयो । ७०औँ मिनेटमा रायो भालेकानोका इभान बालिउले गोल गर्दै खेललाई बरबरीमा ल्याएउनुभएको थियो । बराबरीसँगै ३१ अंक बनाएको रायो भालेकानो सातौँ स्थानमा छ । एजेन्सी