काठमाडौँ, पुस २७ गते । स्पेनिस ला लिगाको मध्यम टोली स्पान्योललाई रेलिगेसन जोगाउन प्रयासरत इल्चेको नमिठो धक्का लागेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा स्पान्योल इल्चेसँग २–१ गोलले पराजित भयो ।
इल्चेको जितमा दुवै गोल पेरे मिल्लाले गर्नुभयो । स्पान्योलका राउल डे टोमसले सान्त्वना गोल फर्काउनुभएको थियो । सबै गोल पहिलो हाफमा सम्भव भएको खेलमा इल्चेले छैटौँ मिनेटमा खाता खोलेको थियो । पेरे मिल्लाले टेले मोरेन्टेको पासमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाउनुभयो । पेरेले १४औँ मिनेटमा जोहन मोजिकाको पासमा ब्यक्तिगत दोस्रो गोल गर्दै इल्चेको अग्रता दोब्बर बनाउनुभयो ।
इल्चेको लगातार गोलपछि जोसिएको स्पान्योलले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल फर्काएको थियो । डिबक्स भित्र इल्चेका गोन्जालो भर्डुले फल खेलेपछि प्राप्त पेनाल्टीलार्ई राउल डे टोमसले सदुपयोग गर्नुभयो । ५३ प्रतिशत बल पोसेसन राखेको इल्चेले दोस्रो हाफमा रक्षात्मक खेल खेलेको थियो । स्पान्योलले दोस्रो हाफमा राम्रा अवसर बनाएपनि गोल गर्न नसक्दा हार खेप्यो । इल्चेका पेरे मिल्ला ‘म्यान अफ दि म्याच’ हुनुभयो ।
जितसँगै इल्चेले रेलिगेसन रेखा छलेको छ । १६औँ स्थानमा उक्लिएको इल्चेको २० खेलबाट १९ अंक छ । समान खेलबाट २६ अंक बनाएको स्पान्योल ११औँ स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको २१ खेलबाट ४९ अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ४४ र तेस्रो स्थानमा रहेको रियल बेटिसको ३४ अंक छ । विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजनले प्रतक्ष प्रशारण गरिरहेको छ । एजेन्सी