काठमाडौँ, पुस २९ गते । सिजनको दोस्रो एल क्लासिकोमा रियल म्याड्रिडले फेरि बाजी मारेको छ । स्पेनिस सुपर कप अन्तर्गत बुधबार राति भएको खेलमा रियलले बार्सिलोनालाई ३–२ गोलले हराउँदै फाइनलमा स्थान बनाएको छ ।
साउदी अरबको रियादमा खेलिएको खेलमा रियललाई जिताउन भिनिसियस जुनियर, कप्तान करिम बेन्जेमा र फेडे भाल्भेर्डेले गोल गर्नुभयो । बार्सिलोनाका लुक डि जोङ र अन्सु फातीले गोल गरेपनि टोलीको हार टरेन । प्रतिस्पधाृत्मक खेलमा रियलले खेलमा तीनपटक अग्रता लिदै जित निकालेको हो ।
रियलले २५औँ मिनेटमा भिनिसियसको गोलबाट सुरुवाती अग्रता लिएको थियो । भिनिसियसले कप्तान करिम बेन्जेमाको पासमा गोल गर्नुभएको हो । ४१औँ मिनेटमा लुक डि जोङले गोल गर्दै खेललाई गोलको बराबरीमा ल्याउनुभयो ।
७२औँ मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई पुन अग्रता दिलाउनुभयो । ८३औँ मिनेटमा अन्सु फातीले जोर्डी अल्वाको पासमा गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्याउनुभयो । त्यसपछि अतिरिक्त समय अर्थात ९८औं मिनेटमा फेडे भोल्भेर्डेले गोल गर्दै रियललाई अग्रता दिलाउनुभयो । त्यसपछि दुवै टोलीबाट थप गोल नहुँदा रियल विजयी भयो ।
सिजनको पहिलो एल क्लासिको अन्तर्गत ला लिगामा पनि रियलले बार्सिलोनालाई उसकै मैदानमा २–१ गोलले हराएको थियो । यस जितसँगै रियलले एल क्लासिकोमा बार्सिलोनासँग लगातार ६ खेलसम्म अपराजित यात्रा जारी राखेको छ ।
यसअघि सन् २०१९ मार्च ३ मा मात्र रियल बार्सिलोनासँग घरेलु मैदानमा १–० गोलले पराजित भएको थियो । स्पेनिस सुपर कप फाइनलमा रियलले एट्लेटिको म्याड्रिड र एथलेटिको बिल्वाओबीचको विजेतासँग खेल्दैछ । फाइनल खेल जनवरी १७ तारिख हुनेछ । एजेन्सी