काठमाडौँ, माघ २ गते । रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक गरेपछि जर्मन बुन्डेसलिगमा शीर्षस्थान टोली बायर्न म्युनिखले एफसी कोल्नमाथि सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले कोल्नलाई उसैको मैदानमा ४–० गोलले हरायो । बायर्नको जितमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा अर्को गोल कोरिन्टिन टोलिसोले गर्नुभयो ।
लेवान्डोस्कीले नवौँ मिनेटमा थोमस मुलरको पासमा खाता खोल्नुभएको थियो । २५औँ मिनेटमा मुलरकै पासमा कोरिन्टिन टोलिसोले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाउनुभयो । त्यसपछि लेवान्डोस्कीले ६२औँ र ७४औँ मिनेटमा ह्याट्रिक पूरा गर्दै बायर्नलाई फराकिलो जित दिलाउनुभयो । जारी लिगमा लेवान्डोस्कीको यो २३औँ गोल हो ।
जितसँगै बायर्नले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ । शीर्षस्थानमा रहेको बायर्नको १९ खेलबाट ४६ अंक छ । दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डको ४० अंक छ । पराजित कोल्न २८ अंक सहित आठौँ स्थानमा छ । एजेन्सी