काठमाडौँ, माघ ३ गते । रियल म्याड्रिड स्पेनिस सुपर कप च्याम्पियन बनेको छ । साउदी अरवमा आइतबार राति भएको फाइनल खेलमा साविक विजेता एथलेटिक बिल्बाओलाई २–० गोलले हराउँदै रियल च्याम्पियन बनेको हो ।
१० खेलाडीमा समेटिएको रियललाई च्याम्पियन बनाउन लुका मोड्रिच र कप्तान करिम बेन्जेमाले गोल गर्नुभयो । रियलले पहिलो र दोस्रो हाफका एक एक गोल गरेको थियो । ३८औँ मिनेटमा लुका मोड्रिचले रोड्रिगाको पासमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाउनुभयो ।
त्यसपछि ५२औँ मिनेटमा कप्तान करिम बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाउनुभयो । डिबक्सभित्र बेन्जेमाको प्रहारलाई बिल्बाओका यारेले ह्यान्ड गरेपनि रियलले पेनाल्टी पाएको थियो । रियल ८७औँ मिनेटमा १० खेलाडीमा समेटियो । इडर मिलिटाओले डिबक्स भित्र ह्यान्ड गरेपछि रातो कार्ड पाउँदै बाहिरिनुभयो ।
सोही गल्तीमा पेनाल्टी पाएको बिल्बाओले सदुपयोग गर्न सकेन । राहुल गार्सियाको पेनाल्टी प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले उत्कृष्ट बचाउ गर्नुभएको थियो । रियलको यो १२औँ सुपर कप उपाधि हो । बार्सिलोनाले सर्बाधिक १३ पटक यस उपाधि जितेको छ । एजेन्सी