काठमाडौँ, माघ ३ गते । स्पेनिस ला लिगाको मध्यम टोली भिल्लारियललाई तुलनात्मक रुपमा कमजोर टोली इल्चेको नमिठो झट्का लागेको छ । आइतबार राति भएको खेलमा भिल्लारियल इल्चेसँग १–० गोलले पराजित भयो ।
प्रतिस्पर्धात्मक खेलमा इल्चेलाई जिताउन अतिरिक्त खेलाडी लुकास वोयले गोल गर्नुभयो । लुकासले ७८औँ मिनेटमा जेरार्ड गुमबउको पासमा गोल गर्नुभएको हो । लुकास ६६औँ मिनेटमा लुकास पेरेजको स्थानमा मैदान प्रवेश गर्नुभएको थियो ।
५१ प्रतिशत बल पोसेसन राखेपनि भिल्लारियलले गोल गर्न सकेन । खेलभर नौ वटा पोस्ट प्रहार गरेको भिल्लारियलको प्रयासमा इल्चेका गोलरक्षक इडगर बदिया बाधक बन्नुभएको थियो । इल्चेको यो लगातार दोस्रो जित हो । अघिल्लो खेलमा इल्चेले स्पान्योललाई २–१ गोलले पराजित गरेको थियो ।
निर्णायक गोल गरेका इल्चेका लुकास वोय ‘म्यान अफ दि म्याच’ बन्नुभयो । जितसँगै इल्चे १५औँ स्थानमा उक्लिएको छ । इल्चेले २१ खेलबाट २२ अंक बनाएको छ । पराजित भिल्लारियल २९ अंकसहित आठौँ स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ४९ अंक छ ।
दोस्रो स्थानमा रहेको सेभियाको ४४ र तेस्रो स्थानमा रहेको रियल बेटिसको ३४ अंक छ । सेभिया र बेटिसले एक खेल कम खेलेको छ । विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजनले प्रतक्ष प्रशारण गरिरहेको छ । एजेन्सी