काठमाडौँ, माघ ९ गते । साविक विजेता इन्टर मिलान इटालियन सिरी ‘ए’ फुटबलको उपाधितर्फ लम्किएको छ । शनिबार राति भएको खेलमा इन्टरले भेनेजियालाई २–१ गोलले हरायो । जितसँगै इन्टरले शीर्षस्थानमा पाँच अंकको अग्रता बनाएको छ । इन्टरको पूनरागमन जितमा निकोलो बरेल्ला र इडेन जेकोले गोल गर्नुभयो । भेनेजियाका थोमस हेनरीको गोल सान्त्वना बनेको थियो ।
खेलमा सुरुवाती अग्रता भेनेजियाले लिएको थियो । १९औँ मिनेटमा थोमस हेनरीले इथान एम्पाडुको पासमा गोल गर्नुभयो । त्यसपछि इन्टरले ४०औँ मिनेटमा बराबरी गोल फर्काएको थियो । निकोलो बरेल्लाले बराबरी गोल फर्काउनुभयो ।
दोस्रो हाफको इन्जुरी समयमा इडेज जेकोले डेन्जेल डमफ्रेजको पासमा गोल गर्दै इन्टरलाई पूनरागमन जित दिलाउनुभयो । जितसँगै शीर्षटोली इन्टरले २२ खेलबाट ५३ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको एसी मिलानको ४८ अंक छ । पराजित भेनेजिया १८ अंक सहित १७औँ स्थानमा छ । एजेन्सी