काठमाडौँ, माघ २० गते । सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । क्यामरुनमा बुधबार राति भएको खेलमा सेनेगलले बुर्किना फासोलाई ३–१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
सेनेगलको जितमा एब्डोउ डियलो, इड्रिसा गाना गुआइ र साडियो मानले गोल गर्नुभयो । बुर्किना फासोका इब्राहिमा ब्लाटी टाउरेले सान्त्वना गोल फर्काउनुभयो । चारै गोल दास्रो हाफमा सम्भव भएको खेलमा सेनेगलले ७०औँ मिनेटमा खाता खोलेको थियो ।
एब्डोउ डियलोले कालिडोउ काउलीबेलीको पासमा गोल गर्दै सेनेगललाई सुरुवाती अग्रता दिलाउनुभयो । । ७६औँ मिनेटमा इड्रिसा गाना गुआइले साडियो मानेको पासमा गोल गर्दै सेनेगलको अग्रता दोब्बर बनाउनुभयो ।
८२औँ मिनेटमा इब्राहिमा ब्लाटी टाउरेले गोल गर्दै बुर्किना फासोलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । तर, साडियो मानेले ८७औँ मिनेटमा इस्माइला सारको पासमा गोल गर्दै सेनेगललाई सहज जित दिलाउनुभयो ।
सेनेगल तेस्रो पटक फाइनलमा पुगेको हो । यसअघि अघि सन् २००२ र २०१९ मा फाइनलमा प्रवेश गरेपनि सेनेगलले उपाधि जित्न भने सकेको छैन । फाइनलमा सेनेगलले आयोजक क्यामरुन र इजिप्टबीचको विजेतासँग खेल्नेछ । एजेन्सी