काठमाडौँ, माघ २३ गते । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र चेल्सी एफए कप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा सिटीले च्याम्पियनसिप क्लब फुलहामलाई ४–१ गोलले हरायो । अर्को खेलमा चेल्सीले प्लेमाउथलाई २–१ गोलले स्तब्ध बनायो ।
घरेलु मैदानमा सिटीलाई जिताउन रियाद महारेजले ५३औँ र ५७औँ मिनेटमा दुई गोल गर्नुभयो । इल्केइ गुन्डोगानले छैटौँ मिनेटमा खाता खोल्नुभएको थियो । अर्को गोल जोन स्टोन्सले १३औँ मिनेटमा गर्नुभयो । फुलहामका फावियो कार्भाल्होले चौथो मिनेटमै सुरुवाती गोल गर्नुभएको थियो । यसैगरी चेल्सीको पुनरागमन जितमा कप्तान सिजर एज्पिलिक्वेटाले ४१औँ र मार्कोस अलन्सोले अतिरिक्त समयमा गोल गर्नुभयो । प्लेमाउथका मकाउले गेलेस्फीको आठौँ मिनेटमा गोल सान्त्वना बन्यो ।
अर्काे खेलमा टोट्टनहामले ब्राइटनलाई ३–१ गोलले पराजित गर्दै प्रिक्वार्टरफाइनलमा स्थान बनायो । टोट्टनहामको जितमा ह्यारी केनले दुई गोल गर्नुभयो । टोट्टनहामले अर्को गोल ब्राइटनबाट उपहार पाएको थियो । ब्राइटनका यभेस विसोउमाले सान्त्वना गोल फर्काएनुभयो । अर्को खेलमा एभर्टनले ब्रेन्टफर्डलाई ४–१ र क्रिस्टल प्यालेसले हर्थपुल युनाइटेडलाई २–० गोलले हराउँदै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । एजेन्सी