काठमाडौँ, माघ २४ गते । अफ्रिका कप अफ नेसन्स फुटबलको उपाधि सेनेगलले जितेको छ । क्यामरुनमा आइतबार राति भएको खेलमा सर्वाधिक सफल टोली इजिप्टलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै सेनेगल च्याम्पियन बनेको हो । सेनेगलले पहिलोपटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको हो ।
निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा सेनेगलका कालिडोउ काउलीवेली, एब्डोउ डियालो, एहमाडोउ बाम्वा डिइङ र साडियो मानेले गोल गर्नुभयो । तेस्रो पटकको पेनाल्टीमा बोउना सार चुक्नुभएको थियो । इजिप्टका जिजो र मारवान हान्डीले मात्र गोल गर्न सक्नुभयो । मोहम्मेद एब्डेलमोनेमको दोस्रो र मोहनाद लासिनको चौथो प्रहार विफल बनेको थियो ।
निर्धारित समयको सातौँ मिनेटमा साडियो माने पेनाल्टीमा चुक्दा सेनेगल दबाबमा देखिएको थियो । इजिप्टले पनि गोल गर्ने राम्रा अवसर खेर फालेको थियो । सेनेगलसँगको हारसँगै इजिप्टको आठौँपटक पछक च्याम्पियन बन्ने सपना पूरा भएन । १० पटक फाइनल खेलेको इजिप्टले सर्वाधिक सात पटक यस उपाधि जितेको छ । इजिप्ट सन् १९५७, १९५९, १९८६, १९९८, २००६, २००८ र २०१० मा च्याम्पियन बनेको थियो । सन् १९६२, २०१७ र यसपटक भने उपविजेतामा सीमित बन्यो । एजेन्सी