काठमाडौँ, माघ २५ गते । एथलेटिक बिल्बाओले स्पेनिस ला लिगामा प्रतिस्पर्धात्मक जित निकालेको छ । सोमबार राति भएको खेलमा बिल्बाओले स्पान्योललाई २–१ गोलले हरायो । घरेलु मैदानमा बिल्बाओलाई पूनरागमन जित दिलाउन ओइहान सानसेट र इनिगो मार्टिनेजले गोल गर्नुभयो । स्पान्योलका टोनी भिलहेनाको सुरुवाती गोल सान्त्वना बन्यो ।
प्रतिस्पर्धात्मक खेलमा तीनवटै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको तेस्रो मिनेटमै स्पान्योलका टोनीले जाभी पुआडोको पासमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाउनुभयो । तर स्पान्योलको अग्रता दुई मिनेट पनि टिकेन । पाँचौँ मिनेटमा सानसेटले राउल गार्सियाको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।
१६औँ मिनेटमा मार्टिनेजल डानी भिभिएनको पासमा गोल गर्दै पहिलो हाफमा बिल्बाओको अग्रता दोब्बर बनाउनुभयो । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल नहुँदा बिल्बाओ विजयी भयो । ५६ प्रतिशत बल पोसेसन राखेको स्पान्योलले दोस्रो हाफमा गोल गर्ने राम्रा अवसर गुमाएको थियो । जितसँगै बिल्बाओ आठौं स्थानमा छ । बिल्बाओले २३ खेलबाट ३४ अंक बनाएको छ । पराजित स्पान्योल २७ अंक सहित १३औं स्थानमा छ ।
तालिकाको शीर्षस्थानमा आसिन रियल म्याड्रिडको ५३ अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ४७, तेस्रो स्थानमा रहेको रियल बेटिसको ४० र चौथो स्थानमा रहेको बार्सिलोनाको ३८ अंक छ । बार्सिलोनाले एक खेल कम खेलेको छ । विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजनले प्रतक्ष प्रशारण गरेको छ । एजेन्सी