काठमाडौँ, माघ २७ गते । इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले उपाधि दौड थप बलियो बनाएको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा सिटीले ब्रेन्टफर्डलाई २–० गोलले हरायो । जितसँगै सिटीले शीर्षस्थानमा १२ अंकको अग्रता लिएको छ । सिटीको सहज जितमा रियाद महारेज र केभिन डि ब्रुयनले गोल गर्नुभयो ।
महारेजले ४०औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाउनुभयो । डिबक्सभित्र रहिम स्टर्लिङलाई ब्रेन्टफर्डका म्याड्स रोर्सलेवले लडाएपछि सिटीले पेनाल्टीको अवसर पाएको थियो ।
त्यसपछि ६९औँ मिनेटमा ब्रुयनले रहिम स्टर्लिङको पासमा गोल गर्दै चेल्सीलाई सजिलै जिताउनुभयो । जितसँगै सिटीले २४ खेलबाट ६० अंक बनाएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ४८ अंक छ । यद्यपी लिभरपुलले दुई खेल कम खेलेको छ । पराजित ब्रेन्टफर्ड २३ अंक सहित १४औँ स्थानमा छ ।
बुधबार रातिनै भएको अर्को खेलमा टोट्टनहाम हटस्पर घरेलु मैदानमै साउथह्याम्टनसँग ३–२ गोलले पराजित भएको छ । साउथह्याम्टनको जितमा अर्मान्डो ब्रोजा, मोहमेद इलयुनोउसी र चे एडाम्सले गोल गर्नुभयो । टोट्टनहामका ह्युङ मिन सनले एक गोल गर्नुभयो । अर्को गोल साउथह्याम्टनबाट उपहार पाएको थियो ।
हारसँगै २१ खेलबाट ३६ अंक बनाएको टोट्टनहाम सातौँ स्थानमा छ । २३ खेलबाट २८ अंक बटुलेको साउथह्याम्टन १०औँ स्थानमा छ । अन्य खेलमा नर्विच सिटी र क्रिस्टल प्यालेसले १–१ तथा एस्टन भिल्ला र लिड्स युनाइटेडले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । एजेन्सी