काठमाडौँ, माघ २७ गते । एएफसी कप छनोट खेल अन्तर्गत शहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षटोली मच्छिन्द्र क्लब र श्रीलंकाको ब्लु स्टार क्लबबीचको खेल दशरथ रंगशालामा हुने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले मच्छिन्द्र र ब्लु स्टारको खेल चैत २२ गते दशरथ रंगशालमा गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो ।
मच्छिन्द्रले लिगको सातौँ चरणसम्म शीर्षस्थानमा रहँदै एएफसी कप छनोट खेल्ने मौका पाएको हो । एन्फाले नेपालको लिग सकिन ढिलो हुने भएकोले सातौँ चरणमा एएफसी क्लब लाइसेन्स प्राप्तमध्ये अगाडि रहने टोलीलाई एएफसी कप छनोट खेल्न दिने निर्णय गरेको थियो ।
नेपालले श्रीलंकन क्लबलाई हराउन सकेमा अर्को चरणमा चैत २९ गते भारतको मोहन बगानसँग खेल्ने मौका पाउनेछ । मोहन बगानलाई पनि हराउन सके मछिन्द्रले समूह ‘डी’ मा भारतको गोकुलम केरेला, बंगलादेशको बसुन्धरा किड्स र माल्दिभ्सको माजिया स्पोर्टस् एन्ड रिक्रिएसनको टोलीसँग खेल्ने अवसर पाउनेछ ।
शहिद स्मारक ‘ए’ डिभिजन लिगमा नवौँ चरणको खेल सकिएसँगै मच्छिन्द्र शीर्षस्थानमा यथावत छ । दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दीको १९ र तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको १७ अंक छ ।