काठमाडौँ, फाल्गनु ४ गते । थ्रीस्टार क्लब र विभागीय टोलीको नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा बुधबार बेलुका भएको खेलमा थ्रीस्टार पुलिससँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
सुरुवाती अग्रता जोगाउन नसक्दा थ्रीस्टारले अंक बाँडेको थियो । थ्रीस्टारका लागि २१औँ मिनेटमा ऋतिक कुमार खड्काले खाता खोल्नुभयो । उहाँले पुलिसका गोलरक्षकको गल्तीमा सजिलै गोल गर्नुभएको थियो । दोस्रो हाफमा खेलमा फर्किएको पुलिसले ५२औँ मिनेटमा बराबरी गोल फर्काएको थियो ।
पुलिसका सुमन सुवेदीले गोल गर्नुभयो । उहाँले तेज तामाङको फ्रिकिक पासमा हेडगोल गर्दै पुलिसलाई हारबाट जोगाउनुभएको थियो । बराबरीसँगै ११ खेलबाट १८ अंक बनाएको थ्रीस्टार चौथो स्थानमा छ । समान खेलबाट ११ अंक बटुलेको पुलिस १०औँ स्थानमा छ ।