काठमाडौँ, फाल्गुन ७ गते । च्यासल युथ क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिगबाट रेलिगेसनमा परेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा फ्रेन्ड्ससँग २–१ गोलले पराजित भएपछि च्यासल रेलिगेसन (‘बी’) मा घटुवा) भएको हो ।
फ्रेन्ड्सलाई जिताउन जमौल एन्थोनी फ्रान्कोइसले दुई गोल गर्नुभयो । च्यासलका मौसा अबगानाले एक गोल फर्काउनुभयो । च्यासल यस सिजन एक खेल बाँकी छँदै रेलिगेसनमा पर्ने पहिलो टोली पनि बनेको छ । च्यासल शीर्ष डिभिजनको तेस्रो सिजनमै रेलिगेसनमा परेको हो । फ्रेन्ड्ससँगको हारपछि च्यासलको १२ खेलबाट ६ अंक छ । च्यासले अन्तिम खेलमा जित निकालेपनि अब बाँकी रेलिगेसन जोगिँदैन ।
च्यासलमाथिको जितसँगै फ्रेन्ड्सले रेलिगेसन जोगाउने सम्भावना बनाएको छ । फ्रेन्ड्सको १२ खेलबाट १० अंक पुगेको छ । एक खेल कम खेलेको जावलाखेलको १० तथा पुलिसको ११ अंक छ । एक खेल कम खेलेको ब्रिगेड ब्वाइज क्लबको सात अंक छ । ब्रिगेड पनि रेलिगेसनको चरम दबाबमा छ ।
च्यासलको फुटबल यात्रा
ललितपुरको च्यासल क्लब २०३७ मा स्थापित भएको हो । च्यासल २०६४ मा ‘सी’ डिभिजन छनोट खेल्दै २०६५ मा ‘सी’ डिभिजनमा बढुवा भएको थियो । २०६६ मा ‘सी’ डिभिजन लिगको उपविजेताको रुपमा च्यासलले ‘बी’ डिभिजनमा बढुवा भएको थियो ।
२०७२ मा ‘बी’ डिभिजन च्याम्पियन बन्दै शीर्ष डिभिजन ‘ए’ मा बढुवा भएको थियो । त्यसपछि २०७४ मा लिग नहुँदा च्यासलले २०७५ मा मात्र शीर्ष डिभिजन खेलेको थियो । च्यासलले यो सहित २०७५ को रेलिगेसनविनाको र २०७६ को लिग खेल्यो । दुवै सिजन मध्यम टोलीको छवि बनाएको च्यासल यसपटक रेलिगेसनमा पर्न बाध्य भयो ।
च्यासलले जारी लिगको १२ खेलमा एक जित, तीन बराबरी र आठ हार आत्मसाथ गरेको थियो । च्यासलले अब लिगको अन्तिम खेलमा सातदोबाटोसँग खेल्नेछ । लिगमा सहभागी ‘ए’ डिभिजनका १४ क्लब मध्ये अन्तिममा रहने दुई टोली रेलिगेसनमा पर्ने प्रावधान छ ।