काठमाडौँ, फाल्गुन ८ गते । च्याम्पियन्स लिग फुटबलमा यसै साता स्पेनिस महारथि रियल म्याड्रिडलाई हराएको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई फ्रेन्च लिग वानमा भने नान्टेसको नमिठो झट्का लागेको छ । शनिबार राति भएको खेलमा पीएसजी नान्टेससँग ३–१ गोलले पराजित भयो ।
घरेलु मैदानमा नान्टेसलाई जिताउन रान्डल कोलो मुएनीले चौथो मिनेटमा खाता खोल्नुभयो । क्विन्टिन मेर्लिनले १५औँ र लुडोभिक ब्लासले पहिलो हाफको इन्जुरी समयमा गोल गर्नुभयो । पीएसजीका नेयमारले ४७औँ मिनेटमा एक गोल फर्काए पनि टोलीको हार टरेन ।
हारेपनि पीएसजीले शीर्ष स्थानमा बलियो छ । पीएसजी दोस्रो स्थानको मार्सेलीभन्दा १३ अंकले अगाडि छ । पीएसजी २५ खेलबाट ५९ अंक छ । पीएसजीलाई हराएको नान्टेस ३८ अंक जोड्दै पाँचौँ स्थानमा उक्लिएको छ । एजेन्सी