काठमाडौँ, फाल्गुन ९ गते । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडमाथि फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले घरेलु टोली लिड्स युनाइटेडलाई ४–२ गोलले हरायो ।
म्यानचेस्टर युनाइटेडको जितमा ह्यारी मगाएर, ब्रुनो फर्नान्डेस, फ्रेड र एन्थोनी इलांगाले गोल गर्नुभयो । लिड्सका रोड्रिगो र राफिन्हाले गोल गरेपनि टोलीको हार टरेन । गोलको बर्षा भएको खेलमा ३४औँ मिनेटमा ह्यारी मगाएरको गोल गर्दै युनाइटेडलाई अग्रता दिलाउनुभयो । पहिलो हाफको इन्जुरी समयमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाउनुभयो । दोस्रो हाफको सुरुमै घरेलु टोलीले दुई मिनेटको अन्तरमा दुई गोल फर्काएपछि खेलले रोमाञ्चक मोड लिएको थियो ।
५३औँ मिनेटमा रोड्रिगोले र ५४औँ मिनेटमा राफिन्हाले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो । तर, ७०औँ मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई फेरि अगाडी बढाउनुभयो । ८८औँ मिनेटमा एन्थोनी इलांगाले गोल गर्दै युनाइटेडलाई फराकिलो जित दिलाउनुभयो । जितसँगै चौथो स्थानमा रहेको युनाइटेडले २६ खेलबाट ४६ अंक बनाएको छ । पराजित लिड्स २३ अंक सहित १५औँ स्थानमा छ ।
अर्को खेलमा वल्भ्सले लेस्टर सिटीलाई २–१ गोलले पराजित गरेको छ । वल्भ्सको जितमा रुवेन नेभेस र ड्यानियल पोडेन्सले गोल गर्नुभयो । लेस्टरका एडेमोला लुकमानले एक गोल फर्काउनुभयो । जितसँगै वल्भ्स २४ खेलबाट ४० अंक जोड्दै सातौँ स्थानमा उक्लिएको छ । पराजित लेस्टर २७ अंक सहित ११औँ स्थानमा छ । एजेन्सी