काठमाडौँ, फाल्गुन १२ गते । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा नेपाल कठिन समूहमा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल समूह ‘ए’ मा परेको छ । समूह ‘ए’ मा नेपालसहित कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
जुन नेपालका लागि बलिया प्रतिद्वन्द्वी हुन् । समूह ‘ए’ को छनोट खेल कुवेतमा हुनेछ । एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहको शीर्ष टोली र पाँचवटा उत्कृष्ट दोस्रो टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिएन कप फुटबलमा छनोट हुनेछन् । छनोट खेलहरु आगामी जुन ८ देखि १४ तारिखसम्म हुनेछ ।