उर्लाबारी, फाल्गुन १२ गते । मोरङको सुनवर्सी–२ अमरदहमा शुक्रबारबाट आयोजना हुने चौथो अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह ढल्के जोवन गोल्डकप (भेट्रान्स) फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । उद्घाटन खेल शसस्त्र प्रहरी बलको एपीएफ क्लब र भारतको एमएफसी दार्जलिङबीच प्रतिस्पर्धा हुनेछ ।
बिराटनगरदेखि ४० किलोमिटर पूर्व उत्तरको अमरदहस्थित वीरेन्द्र सार्वजनिक माविको खेल मैदानमा हुने प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी १२ वटा भेट्रान्स टिमको सहभागिता रहने अमरदह ढल्के जोवन युवा क्लबका अध्यक्ष प्रताप तामाङले बताउनुभयो ।
प्रतियोगितामा भुटानको विआर क्लब थिम्पू, सिक्किमको गोर्खा फुटबल क्लब, दार्जलिङको एमएफ क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, बिराटनगरको बिराट मेघा स्पोर्टस एकेडेमी, रुपन्देहीको बुद्धभुमि फुटबल एकेडेमी, हेटौडाको बीवाई क्लब, पोखराको पोखरा भेट्रान्स, सुनसरीको द योङ ब्रदर्स, झापाको पूर्वाञ्चल भेट्रान्स र आयोजक ढल्के जोवन युवा क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टिमलाई पाँच लाख ११ हजार र उपविजेतालाई दुई लाख ५१ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जानएको छ ।