काठमाडौँ, फाल्गुन १४ गते । लिगको अन्तिम खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–१ गोलको बराबरीमा रोक्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो भएको छ । दशरथ रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा मनाङले पाँचौँ स्थानमा चित्त बुझाएको छ ।
रोमान्चक खेलमा मनाङका लागि ४५औँ मिनेटमा कप्तान अन्जन विष्टले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाउनुभयो । तर ७६औँ मिनेटमा मनाङका रक्षक फ्रान्कलिन कुयटाको प्रहार आत्मघाती गोलमा परिणत भएपछि आर्मी भाग्यमानी बनेको थियो । लिगमा आर्मीको यो आठौँ बराबरी हो ।
अघिल्लो संस्करणमा पनि उपविजेता बनेको आर्मीले यस बराबरीसँगै १३ खेलबाट २३ अंक जोड्यो । आर्मी समान २३ अंक बनाएको एनआरटीलाई हेड टु हेडका आधारमा पछि पार्दै दोस्रो भएको हो । पाँचौँ भएको मनाङले १३ खेलबाट २१ अंक बनायो ।
एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा शनिबार नै भएको खेलमा एनआरटीले नेपाल पुलिस क्लबलाई ३–१ गोलले हराउँदै तेस्रो भएको हो । अन्तिम खेलमा एनआरटीलाई जिताउन मेसुके ओलोमोउले ह्याट्रिक गर्नुभयो । यसअघि १२औँ मिनेटमा एनआरटीका रक्षक शिव गुरुङको प्रहार आत्मघाती गोल भएपछि पुलिसले अग्रता लिएको थियो । तर पुलिसले थप गोल गर्न सकेन ।
जितसँगै तेस्रो भएको एनआरटीले १३ खेलबाट २३ अंक बनायो । १२ अंक बनाएको पुलिसले ११औँ स्थानमा चित्त बुझायो । दुई खेल अगावै मच्छिन्द्र च्याम्पियन बनेको छ । मच्छिन्द्रले ७५ लाख, दोस्रो भएको आर्मीले ५० लाख र तेस्रो भएको एनआरटील्े २५ लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछ ।