काठमाडौँ, फाल्गुन १४ गते । मच्छिन्द्र क्लबलाई लगातार दोस्रो पटक च्याम्पियन बनाउँदै शहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को मैजारो भएको छ । दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा मच्छिन्द्रले एपीएफ क्लबलाई २–१ गोलले हरायो ।
दुई खेल अगावै च्याम्पिन बनेको मच्छिन्द्रले अन्तिमसम्म अपराजित यात्रा कायम राख्यो । अन्तिम खेलमा मच्छिन्द्रलाई जिताउन अविशेक गुरुङ र रेजिन सुब्बाले गोल गर्नुभयो । एपीएफका प्रदीप लामाले एक गोल फर्काउनुभयो । दुवै टोली १०÷१० खेलाडीमा समेटिएको खेलमा सुरुवाती अग्रता मच्छिन्द्रले लिएको थियो ।
४२औँ मिनेटमा अविशेकले आन्द्रेस नियाको पासमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाउनुभयो । ६९औँ मिनेटमा प्रदीप लामाले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । ८१औँ मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रलाई जिताउनुभयो । ८६औँ मिनेटमा मछिन्द्रका सोनाम भुटिया र एपीएफका आवाश लामिछानेले दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि दुवै टोलीले १० खेलाडीमा समेटिएका थिए । जितसँगै मच्छिन्द्रले १३ खेलबाट ३५ अंक बनायो । च्याम्पियन मच्छिन्द्रले १३ खेलबाट ३५ अंक बनायो । १५ अंक बनाएको एपीएफले आठौँ स्थानमा रहँदै लिगको मैजारो गरेको छ ।
उपाधिसँगै मच्छिन्द्रले ७५ लाख रुपियाँ पुरस्कार पायो । यसअघि सातौँ चरणमा शीर्षस्थानमा रहँदै मच्छिन्द्रले एएफसी कप खेल्ने मौका समेत सुनिश्चित गरेको छ । मच्छिन्द्रले २०७६ सालको लिग पनि जितेको थियो । कोरोनाका कारण गत बर्ष लिग भएन । दोस्रो भएको आर्मीले ५० लाख र तेस्रो भएको एनआरटीले २५ लाख रुपियाँ पुरस्कार पायो । १४ क्लब सहभागी लिगको अन्तिममा रहेको च्यासल र ब्रिगेड ब्वाइज क्लब रेलिगेसन (‘बी’ डिभिजनमा घटुवा) भयो ।
मच्छिन्द्रका सुनिल सर्वोत्कृष्ट खेलाडी
शहिद स्मारक ‘ए’ डिभिजन लिगको सर्वोत्कृष्ट खेलाडी मच्छिन्द्र फुटबल क्लबका सुनिल बल घोषित हुनुभएको छ । उपाधिसँगै सुनिलले तीन लाख रुपियाँ पुरस्कार पाउनुभयो । फ्रेन्ड्सका जमउल एन्थोनीले सर्वाधिक गोलकर्ताको पुरस्कार पाउनुभयो । सात गोल गर्नुभएका उहाँले दुई लाख रुपियाँ पुरस्कार पाउनुभयो ।
मच्छिन्द्रकै विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिनुभयो । उहाँले ‘गोल्डेन ग्लोभ्स’ र दुई लाख रुपियाँ पुरस्कार पाउनुभयो । आर्मीका दिनेश हेन्जन ‘इमर्जिङ प्लेयर’ चुनिनुभयो । उहाँले एक लाख ५० हजार रुपियाँ पाउनुभयो । ‘फेयर प्ले टिम’ को अवार्ड सातदोबाटो युथ क्लबलाई प्रदान गरियो ।