logo
२०८१ मंसिर ७ शुक्रवार



स्पेनिस ला लिगा : रियलको कठिन जित

फुटबल |
खेलकुद |


स्पेनिस ला लिगा : रियलको कठिन जित


काठमाडौँ, फाल्गुन १५ गते । शीर्षटोली रियल म्याड्रिडले स्पेनिस ला लिगामा कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले मध्यम टोली रायो भालेकानोलाई उसैको मैदानमा १–० गोलले हरायो ।

रियलको जितमा कप्तान करिम बेन्जेमाले निर्णायक गोल गर्नुभयो । बेन्जेमाले ८३औँ मिनेटमा भिनिसियस जुनियरको पासमा गोल गर्दै रियललाई जिताउनुभयो । जारी लिगका बेन्जेकाको यो १९औँ गोल हो । सर्वाधिक गोल कर्ताको शीर्ष सुचीमा रहनुभएका बेन्जेमाले नौ असिस्ट पनि दिनुभएको छ । दोस्रो स्थानमा रहेका भिनिसियसको नाममा १३ गोल छ ।

प्रतिस्पर्धात्मक खेलको ३९औँ मिनेटमा क्यासमिरोको गोललाई रेफ्रीले भिएआरको सहायतामा अफ साइड दिएपछि रियल दबाबमा परेको थियो । ६६ प्रतिशत बल पोसेसन राखेपनि रियललाई गोल गर्न निकै संघर्ष गर्नुपर्यो । रियललाई कडा टक्कर दिएको रायो भालेकानोले गोल फर्काउन भने सकेन ।

जितसँगै रियलले शीर्षस्थानमा नौ अंकको अग्रता बनाएको छ । रियलको २६ खेलबाट ६० अंक पुगेको छ । दोस्रो स्थानमा रहेको सेभियाको ५१ अंक छ । सेभियाले एक खेल कम खेलेको छ । पराजित रायो भालेकानो ३१ अंक सहित १२औँ स्थानमा छ ।

अर्को खेलमा एट्लेटिको म्याड्रिडले सेल्टा भिगोलाई २–० गोलले हरायो । घरेलु मैदानमा एट्लेटिकोलाई जिताउन दुवै गोल रेनन लोडीले गर्नुभयो । लोडीले ३६औँ र ६०औँ मिनेटमा गोल गरेका थिए । जितसँगै चौथो स्थानमा रहेको एट्लेटिकोले २६ खेलबाट ४५ अंक बनाएको छ । पराजित सेल्टा भिगो ३२ अंक सहित १०औँ स्थानमा छ ।

अर्को खेलमा १० खेलाडीमा समेटिएको भ्यालेन्सियाले मालोर्कालाई १–० गोलले हरायो । गेटाफे र अलाभेसले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजनले प्रतक्ष प्रशारण गरेको छ । एजेन्सी

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?