काठमाडौँ, फाल्गुन १५ गते । नेपाली राष्ट्रिय टोलीका स्ट्राईकर एवं ‘ए’ डिभिजन लिग क्लब मनाङ मस्र्याङ्दीका कप्तान अन्जन विष्टलाई झापा फुटबल क्लबले नेपाल सुपर लिग (एनएसएल) फुटबलमा मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।
चैत २६ देखि जेठ ७ गतेसम्म सञ्चालन हुने फ्रेन्चाईज फुटबल लिग एनएसएलमा झापाले आइतबार अन्जनलाई मार्की खेलाडी बनाएको हो । मार्की खेलाडी सम्बन्धी सम्झौता पत्रमा क्लबका महासचिव सुजन गौतम र अन्जन विष्टले हस्ताक्षर गर्नुभयो । झापाले अन्जनलाई गत संस्करणको भन्दा धेरै रकममा अनुबन्ध गरेको पनि जनाएको छ । अनुबन्ध रकम भने उल्लेख गरिएको छैन ।
सम्झौता कार्यक्रममा अन्जनले क्लबको सोचले आफु प्रभावित भएर अनुबन्ध गरेको बताउनुभयो । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजेमेन्ट (एनएसएल) को आयोजनामा सञ्चालन हुने एनएसएलमा विभिन्न १० शहरका १० टोलीको सहभागिता रहनेछ । प्रतियोगिातका खेलहरु पोखरा र काठमाडौँमा खेलाईने पनि बताईएको छ ।