logo
२०८१ जेष्ठ ३ बिहीवार



रोनाल्डोको ह्याट्रिकसहित कीर्तिमान

फुटबल |
खेलकुद |


रोनाल्डोको ह्याट्रिकसहित कीर्तिमान


काठमाडौँ, फागुन २९ गते । क्रिस्टियानो रोनाल्डोले ह्याट्रिकसहित नयाँ कीर्तिमान रचेपछि म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा टोट्टनहाममाथि रोमाञ्चक जित नकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा युनाइटेडले टोट्टनहामलाई ३–२ गोलले हरायो ।

टोट्टनहामले दुई पटक बराबरी गोल फर्काएपनि रोनाल्डोको अगाडी केही लागेन । टोट्टनहामका लागि ह्यारी केनले गोल गर्नुभयो । टोट्टनहामले अर्को गोल युनाइटेडका ह्यारी मगाएरबाट आत्मघाती उपहार पाएको थियो । रोनाल्डोले १२औँ मिनेटमा २५ यार्ड टाढाबाट गोल गर्दै युनाइटेडलाई अग्रता दिलाउनुभयो। ३५्औँ मिनेटमा युनाइटेडका एलेक्स टेलेसले डिबक्सभित्र ह्यान्ड गरेपछि टोट्टनहामले पेनाल्टी पाएको थियो । जसलाई केनले गोल गर्नुभयो ।

३८औ मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई पुनः अग्रता दिलाउनुभयो । ७२औँ मिनेटमा मगाएरको प्रहार आत्मघाती गोलमा परिणत भएपछि टोट्टनहामले खेललाई बराबरीमा ल्याएको थियो । तर ८१औँ मिनेटमा रोनाल्डोले हेडगोल मार्फत ह्याट्रिक पूरा गर्दै युनाइटेडलाई रोमाञ्चक जित दिलाउनुभयो । यस गोलसँगै रोनाल्डोले आधिकारिक फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान समेत रच्नुभएको छ । रोनाल्डोले आठ सय सात गोल गर्दै कीर्तिमान बनाउनुभएको हो ।

जितसँगै युनाइटेड चौथो स्थानमा उक्लिएको छ । युनाइटेडले २९ खेलबाट ५० अङ्क बनाएको छ । पराजित टोट्टनहाम २७ खेलबाट ४५ अङ्क जोड्दै सातौँ स्थानमा छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको ६९ अङ्क छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ६६ र तेस्रो स्थानमा रहेको चेल्सीको ५६ अङ्क छ ।

शनिबार रातिनै भएको खेलमा लिभरपुलले ब्राइटनलाई उसकै मैदानमा २–० गोलले हरायो । लिभरपुलको जितमा लुइस डियाज र मोहम्मद सलाहले गोल गर्नुभयो । अर्को खेलमा ब्रेन्टफर्डले बर्नलीलाई २–० गोलले स्तब्ध बनायो । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?