logo
२०८१ बैशाख ७ शुक्रवार



सिटी र लिभरपुल एफए कपको सेमिफाइनलमा

फुटबल |
खेलकुद |


सिटी र लिभरपुल एफए कपको सेमिफाइनलमा


काठमाडौँ, चैत ७ गते । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी, लिभरपुल र क्रिस्टल प्यालेस एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार राति भएको खेलमा प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई उसकै मैदानमा ४–१ गोलले हरायो । लिभरपुलले च्याम्पियनसिप क्लब नथिङघम फरेस्टलाई १–० गोल र क्रिस्टल प्यालेसले एभर्टनलाई ४–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

सिटीको फराकिलो जितमा रहिम स्टर्लिङ, केभिन डि ब्रुयन, फिल फोडेन र रियाद महारेजले गोल गर्नुभयो । साउथह्याम्पटनले भने सिटीबाट आत्मघाती उपहार पाएको थियो । अर्को खेलमा लिभरपुललाई जिताउन डिएगो जोटाले ७८औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । यसैगरी क्रिस्टल प्यालेसको फराकिलो जितमा मार्क गुही, जिन फिलिप माटेटा, वेलफ्रेड जाहा र विल ह्युगले गोल गर्नुभयो ।

यससँगै एफए कपको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । यसअघि नै चेल्सीले मिडल्सब्रगलाई हराएर सेमिफाइनलमा स्थान बनाई सकेकोे छ । अब अप्रिल १६ मा हुने सेमिफाइनलमा चेल्सी र क्रिस्टल प्यालेस तथा सिटी र लिभरपुलबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल मे १४ तारिख हुनेछ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?