logo
२०८१ बैशाख १४ शुक्रवार



मच्छिन्द्रलाई हराउँदै पिप्लेले उचाल्यो राजर्षि जनक कपको उपाधि

फुटबल |
खेलकुद |


मच्छिन्द्रलाई हराउँदै पिप्लेले उचाल्यो राजर्षि जनक कपको उपाधि


जनार्जन खत्री
सर्लाही, चैत १३ गते । शहीद स्मारक ‘ए’ डिभिजन लिग बिजेता मच्छिन्द्र फुटबल क्लबलाई पराजित गर्दै पिप्ले युवा क्लब हेटौंडाले छैटौँ राजर्षि जनक कपको उपाधि उचालेको छ । आइतबार सर्लाहीको बागमतीस्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा भएको प्रतियोगिताको फाइनल खेलमा टाइब्रेकरमार्फत मच्छिन्द्रलाई ४–३ गोलले हरायो । पिप्लेले दोस्रो पटक राजर्षि जनक कपको उपाधि उचालेको हो । पिप्लेले पाँचौँ संस्करणमा पनि आयोजक बागमती युवा क्लबलाई पराजित गर्दै उपाधि हात पारेको थियो ।

आइतबारको फाइनल खेल अन्तर्गत निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि टाइब्रेकरमार्फत प्रतियोगिताको बिजेता र उपबिजेताको छिनाफानो लगाइएको हो । टाइब्रेकरमा बिजेता पिप्लेको तर्फबाट अशोक खवास, समिरराज ठोकर, कप्तान अमिर श्रेष्ठ र रुपक लामाले गोल गर्नुभयो । पिप्लेका विदेशी खेलाडी मार्टिन्सले गरेको प्रहार मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले रोक्न सफल हुनुभयो भने कुलदीप कार्कीले प्रहार गरेको बल भने बाहिरिन पुग्यो ।

यस्तै, उपबिजेता मच्छिन्द्रको तर्फबाट कप्तान सुजल श्रेष्ठ, विजय धिमाल र विदेशी खेलाडी करिमले मात्रै गोल गर्न सक्नुभयो । विमल घर्ती मगर र देवेन्द्र तामाङले प्रहार गरेको बल पिप्लेका गोलरक्षक अशोक बरालले उत्कृष्ट बचाउ गर्नुभयो । छिरिङ गुरुङले प्रहार गरेको बल भने क्रमबारमा लागेर फर्किन पुग्यो ।

जितसँगै पिप्ले युवा क्लबले १० लाख नगदसहित राजर्षि जनक कपको ट्राफी उचालेको छ । उपबिजेता मच्छिन्द्रले भने ५ लाख रुपियाँमा चित्त बुझाएको छ । आइतबारको फाइनल खेलमा बिजेता पिप्ले युवा क्लबका गोलरक्षक अशोक बराल म्यान अफ दि म्याच बन्दै १० हजार रुपियाँ प्राप्त गर्नुभयो । उहाँले टाइबे्रकरमा मच्छिन्द्रका खेलाडीले प्रहार गरेको दुईवटा बललाई रोक्न सफल हुनुभएको थियो ।

पिप्ले युवा क्लबका रुपक लामा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्नुभयो । उहाँले ५१ हजार रुसिपयाँ प्राप्त गर्नुभएको छ । प्रतियोगितामा मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठ सर्वोत्कृष्ट गोलरक्षक, बागमती युवा क्लब सर्लाहीका अमर श्रेष्ठ सर्वोत्कृष्ट डिफेन्डर, मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठ सर्वोत्कृष्ट मिडफिल्डर, मच्छिन्द्रकै विमल घर्तीमगर सर्वोत्कृष्ट स्ट्राइकर र पिप्ले युवा क्लबका सुविन घिमिरे सर्वोत्कृष्ट प्रशिक्ष घोषित हुनुभयो । उहाँहरुले जनही २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । आयोजक बागमती युवा क्लबको तर्फबाट उत्कृष्ट खेलाडी बन्दै विमल घिसिङले एनएस पल्सर मोटरसाइकल प्राप्त गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?