logo
२०८० चैत्र १६ शुक्रवार



ब्राजिलले जित्दा अर्जेन्टिना बराबरीमा रोकियो

फुटबल |
खेलकुद |


ब्राजिलले जित्दा अर्जेन्टिना बराबरीमा रोकियो


काठमाडौँ, चैत १६ गते । कतार फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा ब्राजिलले जित निकाल्दा अर्जेन्टिना बराबरीमा रोकिएको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले बोलिभियालाई उसकै मैदानमा ४–० गोलले हरायो । अर्को खेलमा र्जेन्टिना इक्वेडरसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

ब्राजिलको जितमा रिचार्लीसनले दुई तथा लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले एक एक गोल गर्नुभयो । एकपक्षीय खेलमा २४औँ मिनेटमा लुकास पाक्वेटाले ब्रुनो गुइमारेसको पासमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाउनुभएको थियो । ४५औँ मिनेटमा रिचार्लीसनले एन्टोनीको पासमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाउनुभयो ।

६६औँ मिनेटमा ब्रुनो गुइमारेसले लुकास पाक्वेटाको पासमा गोल गर्दै ब्राजिलको अग्रता थप बलियो बनाउनुभयो । दोस्रो हाफको इन्जुरी समयमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गर्दै बाज्रिललाई सानदार जित दिलाउनुभयो । जितसँगै शीर्षस्थानमा रहेको ब्राजिलले अपराजित यात्रा कायम राखेको छ । ब्राजिलको १७ खेलबाट ४५ अङ्क छ । पराजित बोलिभिया १५ अङ्कसहित नवौँ स्थानमा छ ।

अर्को खेलमा अर्जेन्टिना सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो । अर्जेन्टिनाका लागि २४औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्नुभयो । इनर भ्यालेन्सियाले दोस्रो हाफको इन्जुरी समयमा बराबरी गोल फर्काउनुभयो । बराबरीसँगै अपराजित अर्जेन्टिना १७ खेलबाट ३९ अङ्क जोड्दै दोस्रो स्थानमा छ ।

इक्वेडर छनोटमा शीर्ष चारमा रहँदै विश्वकपमा स्थान बनाउन सफल भएको छ । इक्वेडरका १८ खेलबाट २६ अङ्क पुगेको छ । अन्य खेलमा उरुग्वेले चिलीलाई २–०, पेरुले पाराग्वेलाई २–० र कोलम्बियाले भेनेजुएलालाई १–० गोलले पराजित गरेको छ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?