logo
२०८१ बैशाख १५ शनिवार



शीर्षटोली सिटी र लिभरपुल विजयी

फुटबल |
खेलकुद |


शीर्षटोली सिटी र लिभरपुल विजयी


काठमाडौँ, चैत २० गते । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्षटोली म्यानचेस्टर सिटी र लिभरपुल दुवै विजयी भएका छन् । शनिबार राति भएको खेलमा सिटीले बर्नलीलाई उसैको मैदानमा २–० गोलले हरायो । अर्को खेलमा लिभरपुलले वाट्फोर्डलाई २–० गोलले नै स्तब्ध बनायो । सिटीको जितमा केभिन डि ब्रुयन र इल्केए गुन्डोगानले गोल गर्नुभयो ।

दुवै गोल पहिलो हाफमा सम्भव बनाएको सिटीले पाँचौँ मिनेटमा ब्रुयनको गोलबाट अग्रता लिएको थियो । ब्रुयनले रहिम स्टर्लिङको पासमा गोल गर्नुभयो । २५औँ मिनेटमा रहिमकै पासमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीको अगैता दोब्बर बनाउनुभयो । त्यसपछि दुवै टोलीबाट थप गोल निस्कन नसक्दा सिटी सजिलै विजयी भयो ।

जितसँगै शीर्षस्थानमा रहेको सिटीको ३० खेलबाट ७३ अङ्क बनाएको छ । पराजित बर्नली २८ खेलबाट २१ अङ्क जोड्दै १९औँ स्थानमा छ । अर्को खेलमा लिभरपुललाई जिताउन डिएगो जोटा र फाविन्होले गोल गर्नुभयो । जोटाले २२औँ मिनेटमा जोसेप गोमेजको पासमा खाता खोल्नुभएको थियो । ८९औँ मिनेटमा फाविन्होले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई सजिलै जिताउनुभयो ।

जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको दूरी एक अङ्कले घटाएको छ । लिभरपुलको ३० खेलबाट ७२ अङ्क पुगेको छ । पराजित वाट्फोर्ड २२ अङ्कसहित १८औँ स्थानमा छ । अन्य खेलमा चेल्सी ब्रेन्टफर्डसँग ४–१ गोलले पराजित भएको छ । म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?