logo
२०८१ बैशाख ८ शनिवार



अर्को त्रिदेशीय सिरिजको तयारीमा नेपाली क्रिकेट

क्रिकेट |
खेलकुद |


अर्को त्रिदेशीय सिरिजको तयारीमा नेपाली क्रिकेट


काठमाडौँ, चैत २९ गते । नेपाली क्रिकेट टोली फेरि आईसीसी विश्वकप लिग–२ अन्तर्गत अर्को त्रिदेशीय सिरिजको तयारीमा जुटेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी जेठ २४ देखि ३१ गतेसम्म अमेरिकामा आयोजना हुने त्रिदेशीय सिरिजको तयारीका लागि जुटेको क्यानका म्यानेजर विनोद दासले बताउनुभयो ।

लिग–२ को यस सिरिजमा नेपालले अमेरिका र ओमानसँग प्रतिस्पर्धा गर्नेछ । यस सिरिजअघि नेपाली क्रिकेट टोलीले क्यानडामा प्रशिक्षण र तयारी खेल खेल्न लागेको जानकारी पनि दासले दिनुभयो । उहाँले क्यान अहिले खेलाडीको क्यानडा भ्रमण र अमेरिकामा हुने सिरिजको लागि खेलाडीको भिसा प्रक्रिया लगायतको तयारीमा जुटेको बताउनुभयो । नेपालले क्यानडासँग टी–२० र एकदिवसीय अभ्यास खेल खेल्नेछ ।

कोरोनाका कारण लामो समय अवरुद्ध भएको विश्वकप लिग–२ अन्तर्गत नेपालले यही चैत महिना संयुक्त अरव इमिरेट्स (यूएई) मा आयोजक यूएई र पपुवा न्युगिनी (पीएनजी) सँग त्रिदेशीय सिरिज खेलेको थियो । उक्त सिरिजमा नेपालले दुई जित र दुई हारको नतिजा निकालेको थियो ।

यूईएमा नेपालले सिरिजको पहिलो खेलमा पीएनजीलाई दुई विकेटले हराएको थियो । दोस्रो खेलमा यूएईसँग ४८ र तेस्रो खेलमा यूएईसँगै ९९ रनले पाराजित भएको नेपालले अर्को खेलमा पीएनजीलाई सात विकेटको हराएको थियो । लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटाैं स्थानमा छ । नेपालले १२ खेलमा ६ जित र ६ वटै हार खेपेको छ ।

२८ खेलबाट ३६ अङ्क बनाएको ओमान शीर्षस्थानमा छ । यूएई, स्कटल्याण्ड, नामिबिया र अमेरिका तालिकाको क्रमश दोस्रो, तेस्रो, चौंथो र पाँचौ स्थानमा छन् । दुई अङ्क बनाएको पीएनजी तालिकाको पुछारमा छ । सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?