logo
२०८१ बैशाख ७ शुक्रवार



चेल्सीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

फुटबल |
खेलकुद |


चेल्सीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा


काठमाडौँ, चैत ३० गते । साविक विजेता चेल्सीलाई हराउँदै स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा मंगलबार राति भएको दोस्रो लेगमा रियलले इङ्लिस प्रिमियर लिग क्लब चेल्सीलाई ३–२ गोलले हरायो । रियल समग्रतामा ५–४ गोलले विजयी भयो । रियलले पहिलो लेगमा चेल्सीलार्ई ३–१ गोलले हराएको थियो ।

रियलको सेमिफाइनल यात्रामा कप्तान करिम बेन्जेमा निर्णायक बन्नुभयो । समग्रमा ४–४ को बराबरीमा सकिएको खेलमा बेन्जेमाले थप गरिएको समयमा निर्णायक गोल गर्नुभयो । उहाँले पहिलो लेगमा पनि ह्याट्रिक गर्नुभएको थियो । प्रतिस्पर्धात्मक खेलमा करिव प्रतियोगिताबाट बाहिरिन लागेकोे रियललाई रोड्रिगोले जीवनदान दिनुभयो । दोस्रो लेगमा ३–० गोलले पछि परेको अवस्थाबाट रोड्रिगोले ८०औँ मिनेटमा गोल गर्दै रियललाई खेलमा फर्काउनुभएको थियो ।

यसअघि चेल्सीले १५औँ मिनेटमा मासन माउन्टको गोलबाट अग्रता लिएको थियो । ५१औँ मिनेटमा एन्टोनियो रुडिगरको हेडगोल गर्दै चेल्सीले अग्रता दोब्बर बनाउनुभयो । यससँगै चेल्सीले खेललाई समग्रमा ३–३ गोलको बराबरी बनाएको थियो । टिमो वार्नरले ७५औँ मिनेटमा गोल गर्दै चेल्सीलाई सेमिफाइनल नजिक लग्नुभयो ।

तर, ८०औँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियलको सम्भावना जिवित राख्नुभयो । त्यसपछि थप समयमा धकेलिएको खेलमा बेन्जेमाले गोल गर्दै रियललाई नाटकिय जित दिलाउनुभयो । बेन्जेमाको गोलसँगै साविक विजेता चेल्सी प्रतियोगिताबाट बाहिरियो । यससँगै रियलले चेल्सीसँग बदला समेत लिएको छ । गत सिजन रियल चेल्सीसँग सेमिफाइनलमा पराजित भएको थियो ।

यसैगरी अर्को खेलमा जर्मन स्पेनिस क्लब भिल्लारियलसँग १–१ गोलको बराबरीमा रोकिएपछि जर्मन क्लब बायर्न म्युनिखे क्वार्टरफाइनलबाट बाहिरिएको छ । भिल्लारियल समग्रमा २–१ गोलले विजयी भयो । पहिलो लेगमा भिल्लारियल १–० गोलले विजयी भएको थियो ।

घरेलु मैदानमा बायर्नले ५१औँ मिनेटमा रोबर्ट लेवान्डोवेस्कीको गोलमा सुरुवाती अग्रता लिएको थियो । तर खेल सकिन दुई मिनेट बाँकी छँदा सामु चुक्वेजेले गोल गर्दै भिल्लारियलको सेमिफाइनल यात्रा पक्का बनाउनुभयो । ६ पटकको च्याम्पियन बार्यनलाई हराएको भिल्लारियल सन् २००६ पछि पहिलो पटक सेमिफाइनलमा पुगेको हो । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?