logo
२०८१ मंसिर ६ बिहीवार



एचआइभी सङ्क्रमित आमाले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो   

स्वास्थ्य |




चितवन, भदौ ५ गते ।  जिल्लामा एचआइभी सङ्क्रमित आमाहरुले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो रहेको छ । भरतपुर अस्पतालमा विगत १० वर्षमा ९० जना सङ्क्रमित आमाले बच्चा जन्माएका छन् । तीमध्ये पाँच जना बच्चामा सङ्क्रमण देखिए पनि ८६ जनामा भने सङ्क्रमण भेटिएको छैन । एक जना आमाले जुम्ल्याहा बच्चा जन्माएकी हुन् ।    
    
भरतपुर अस्पतालमा रहेको एन्टीरेट्रो भाइरल थेरापी (एआरटी) केन्द्रका अनुसार हरेक वर्ष १२ देखि १५ जनाले सुरक्षित बच्चा जन्माउने गरेका छन् । यस्तै सन् २०१९ को ६ महीनामा चार जना आमाले बच्चा जन्माइसकेका छन् । यसै वर्ष चार जना आमा बच्चा जन्माउने तयारीमा रहेका छन् । सङ्क्रमित भएको थाहा भएदेखि नै औषधि सेवन गर्दा औषधिका कारण बच्चामा र श्रीमान् वा श्रीमतीमा समेत समस्या नहुने केन्द्रका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले जानकारी दिनुभयो ।    
सन् २००७ मा केन्द्र स्थापना भएको हो । सङ्क्रमित आमाले नियमित औषधि खाएमा उनीहरुबाट जन्मिएको बच्चामा समस्या नदेखिने गरेको उहाँले जानकारी दिनुभयो । बच्चा बसिसकेपछि एचआइभी सङ्क्रमण देखिएका पाँच जना आमाले जन्माएको बच्चामा मात्रै सङ्क्रमण भेटिएको उहाँको भनाइ छ ।    
    
केन्द्रको सम्पर्कमा रहेका १७५ जोडीले औषधि सेवन गर्दै बच्चा जन्माउने तयारीमा रहेका छन् । उनीहरु दुवै जना सङ्क्रमित हुन् । औषधिका कारण आफूहरुले सुरक्षित बच्चा जन्माउन सकेको सङ्क्रमितमध्येका एकले बताए । औषधिको सेवनले सङ्क्रमितको जीवन लामो हुने र बच्चा जन्माउन चाहेदेखि बच्चासमेत सङ्क्रमित नहुने उनको भनाइ थियो ।    
केन्द्रको परामर्शअनुसार बच्चा जन्माउने सङ्क्रमितहरुको सङ्ख्या पनि बढ्दो रहेको छ । सन् २०१८ मा मात्रै १२ जना आमाले बच्चा जन्माएका थिए । तीमध्ये सङ्क्रमण ढिलो भेटिएकी एक आमाबाट जन्मिएका छोरालाई मात्र सङ्क्रमण भेटिएको थियो । सङ्क्रमण देखिने बित्तिकै औषधिको सेवन गर्न पाइन्छ । केही वर्षअघि सम्म औषधि प्रयोग गर्न कुर्नुपर्ने हुन्थ्यो ।    
अस्पतालमा रहेको केन्द्रबाट ८९५ जनाले औषधि सेवन गर्दै आएका छन् । केन्द्रको सम्पर्कमा एक हजार ७२९ जना रहेका छन् । तीमध्ये कतिपयले आफ्नो पायक पर्ने स्थानबाट औषधि लिँदै आएका छन् । अस्पतालको सम्पर्कमा आएका आमाहरुमा चितवन, नवलपुर, मकवानपुर, धादिङ गोर्खालगायत जिल्लाका रहेका छन् । बढी सङ्ख्यामा चितवनको रहेका छन् । विसं २०७३ मा एक सङ्क्रमितले जुम्ल्याहा बच्चा जन्माएका थिए । उनीहरुमा पनि सङ्क्रमण देखिएको थिएन ।    
    
केन्द्रबाट औषधि सेवन गर्नेहरुमा ४०८ पुरुष, ४२६ महिला र ६१ जना बच्चा रहेका छन् । तीमध्ये १२ समलिङ्गी र दुई जना तेस्रोलिङ्गी रहेका छन् । पुरुषहरुको मदिरा सेवन, ध्रुमपान लगायतका कारण सङ्क्रमणपछि चाँडो मृत्यु हुने गरेको छ ।  (रासस)   

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?