logo
२०८१ जेष्ठ ४ शुक्रवार



हुम्लामा औलो रोगका बिरामी भेटिए

स्वास्थ्य |
राष्ट्रिय |


हुम्लामा औलो रोगका बिरामी भेटिए


राजन रावत–
सिमकोट भदौ ९ गते । हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकाको वडा नम्बर २ को मैला स्वास्थ्य चौकीमा रगत जाँच गर्ने क्रममा दुई जनामा औलो रोग भेटिएको छ ।

नेपालबाट औलो उन्मुलनको घोषणा भए पनि हिमाली जिल्लामा पछिल्ला वर्षहरुमा यो रोग देखिन थालेपछि स्थानीय जनता त्रसित भएका छन् ।

ज्वरो आउने र शरीर काम्ने बिमार लागेका बिरामीमा औलो भेटिएको हो । शरीर चिसो हुने, ज्वरो आउने भैरहेपछि स्वास्थ्य चौकीमा गएर जाँच गर्दा औलो भएको थाहा भएको औलो रोग संक्रमित कुशमकला जैशीले बताउनुभयो ।

गर्मी बढेपछि गाउँमा लामखुट्टे पनि देखिन थाले पनि स्थानीय स्तरमा त्यसबाट बच्ने उपाय नभएको उहाँले बताउनुभयो ।

हुम्ला जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने ताँजाकोट गाउँपालिकाको वडा नम्बर २ निवासी वर्ष २८ की कुशमकला जैशी र ४ की १३ वर्षीया सुमित्रा ढकालको आरडिटीबाट रगत परिक्षण गर्दा औलो भेटिएको स्वास्थ्य चौकीका एचए धनराज ढकालले बताउनुभयो ।

छिल्ला वर्षमा मौसम परिवर्तनसँगै तापक्रम बढेपछि जिल्लामा लामखुट्टे भित्रिन थालेपछि औलो रोग देखा पर्न थालेको उहाँले बताउनुभयो ।

औलो रोगका बिरामीलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । ताँजाकोटमा औलो रोगी भेटिएपछि गाउँपालिकाका सबै वडामा घर घरमै जाँच गरिने उहाँले बताउनुभयो ।

काम ज्वरो आउने र ज्वरो आउजाउ भैरहने लक्षण देखिएमा औला भएको जिल्ला अस्पतालका डा. दुर्गा सुर्खालीले बताउनुभयो ।

विशेष गरेर संक्रमित लामलुट्टेबाट रोग सर्ने र पछिल्ला समय तापक्रम बढेपछि हुम्लामा पनि लामखुट्टे देखिन थालेकाले रोग सरेको हुनसक्ने उहाँले बताउनुभयो ।

रोगबाट बच्ने उपायहरु झुलको प्रयोग, घर आगनको सरसफाई गर्न उहाँले स्थानीयलाई आग्रह गर्नुभयो ।

गतवर्ष पनि ताँजाकोटमा पाँचजना औलोका रोगी भेटिएका थिए भने जिल्ला अस्पतालले सर्केगार्ड गाउँपालिकामा संचालन गरेको स्वास्थ्य शिविरका क्रममा तीनजना रोगी भेटिएका थिए । तस्विर सौजन्य – धनराज ढकाल, हुम्ला

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?