logo
२०८१ मंसिर ७ शुक्रवार



नेपालमा प्रोस्टेट क्यान्सर

स्वास्थ्य |
विचार/दृष्टिकोण |


नेपालमा प्रोस्टेट क्यान्सर


प्रा. डा. अर्जुनदेव भट्ट

नेपालमा प्रोस्टेट क्यान्सर कति व्यापक छ यकिन आँकडा छैन तर यो रोगका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । यसको कारण पुरुषको दीर्घायु, पीएसए रक्त परीक्षणको व्यापक प्रयोग, विशेषज्ञ चिकित्सक युरोलोजिस्टहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि, स्वास्थ्यप्रति बढेको जनचेतना तथा आधुनिक उपकरण (सिटि स्क्यान, एमआरआई र प्रोस्टेट तन्तु जाँच) देशभित्रै उपलब्ध हुनाले देखाउँछ । हाल यो रोगको पहिचान तथा उपचारका लागि विदेश गइरहनु पर्दैन ।
प्रोस्टेट क्यान्सरको कारण ः
विश्व आँकडाअनुसार पुरुषमा फोक्सोको क्यान्सरपछि प्रोस्टेट क्यान्सरको स्थान छ । यो प्रायः ५० वर्ष नाघेका पुरुषमा पहिचान हुन्छ । ८० वर्ष नाघेर मृत्युवरण गरेका पुरुषहरूको शव परीक्षणले ५० प्रतिशतमा यो रोग लक्षणहीन भई लुकेर बसेको अवस्थामा रहेको देखाएको छ । व्यापक रूपमा देखापर्ने रोग प्रोस्टेट क्यान्सर के कारणले हुन्छ अझै पनि वैज्ञानिकहरूका निम्ति अस्पष्ट छ । पुरुष हर्मोनले कुनै न कुनै रूपमा यो रोगको उत्पत्तिमा महŒवपूर्ण भूमिका खेल्छ । त्यो बाहेक मनुष्य जातीय, भौगोलिक पर्यावरणीय तथा आनुवंशिक विविधताको पनि केही न केही भूमिका पनि हुन्छ ।
प्रोस्टेट मांसपेशी, रेशायुक्त र ग्रन्थिक तन्तुहरू मिलेर बनेको हुन्छ । प्रोस्टेट क्यान्सर ग्रन्थिका तन्तुबाट उब्जने रोग हो । सुरुको अवस्थामा यो व्यथा प्रोस्टेट ग्रन्थिभित्रै फैलिने हुन्छ । तर रहँदा बस्दा यो ग्रन्थि बाहिर लिम्फाटिकग्लाण्ड, हड्डी, फोक्सो, मस्तिष्क, कलेजोतिर फैलिन सक्छ । प्रोस्टेट क्यान्सर कति चाँडो शरीरमा फैलिन सक्छ भन्ने प्रश्नको उत्तर तन्तु जाँचको परिणाममा भर पर्छ । सामान्यतया प्रोस्टेट क्यान्सर छिटो फैलिने रोग होइन । त्यसको प्राकृतिक विकास १०–१५ वर्ष लगाएर हुन्छ । जुन उमेरमा प्रायः प्रोस्टेट क्यान्सर देखापर्छ, त्यस्तो समयमा धेरै पुरुष मुटु, कलेजो, मिर्गौला, फोक्सो, मधुमेह, उच्च रक्तचाप इत्यादि रोगबाट ग्रस्त हुन्छन् । त्यसैले ८० प्रतिशतभन्दा बढी पुरुष जो प्रोस्टेट क्यान्सर पीडित हुन्छन् तिनीहरू यो रोग शरीरका विभिन्न भागसम्म फैलिनु अगाडि नै अरू नै रोगका कारणबाट मृत्युवरण गरिसक्छन् ।
पीएसए र प्रोस्टेट क्यान्सर ः
प्रोस्टेट ग्रन्थि कोशिकाले बनाउने एउटा प्रोटिन हो– पीएसए । यो स्खलन भएको वीर्य पातलो बनाउन नभई नहुने तत्व हो । पीएसएको अभावमा शुक्रकीट वीर्यमा पौडिन सक्दैनन् र डिम्ब निषेचन गर्न असक्षम हुन्छन् । प्रोस्टेट क्यान्सरका कोशिका पनि प्रोस्टेट ग्रन्थिका सामान्य कोशिका जस्तै पीएसए उत्पादन गर्न सक्छन् तर कम मात्रामा । प्रोस्टेट क्यान्सर भएका बिरामीको पीएसए उत्पादन बढी नभए पनि यो तत्व रगतमा पुग्ने प्रक्रियामा वृद्धि भएर रक्त स्तरको मात्रा धेरै हुने गर्दछ ।
पीएसए प्रोस्टेट क्यान्सर विशेष तत्व भने होइन तर यो तत्वको रक्त स्तर उच्च भएमा प्रोस्टेट ग्रन्थिमा क्यान्सरको विकास सुरु भएको छ कि भनेर विभिन्न परीक्षण गरेर रोग भए नभएको टुङ्गो लगाउन मद्दत पु¥याउँछ । केही प्रोस्टेट क्यान्सरका प्रकारमा पीएसएको रक्त स्तर वृद्धि नहुने पनि हुन्छ जस्तै न्युरो एनडोक्राइन अर्बुद– यो ज्यादै उग्र प्रोस्टेट क्यान्सर हो, तर पीएसए जाँचबाट पत्ता लाग्दैन । मूत्रनलीको सुरुको भागमा भएको प्रोस्टेट क्यान्सरमा पनि पीएसएको रक्त स्तर बढ्दैन । प्रोस्टेट क्यान्सर आमूल शल्यक्रियाको एक महिनापछि पीएसएको रक्तस्तर पत्ता लाग्न सक्नेभन्दा तल नझरे प्रोस्टेट क्यान्सर शल्यक्रिया पूर्ण नभएको मान्नुपर्छ । १९८६ मा पीएसएको रक्त परीक्षण चिकित्सा क्षेत्रमा सुरु भएपछि लाखौँ प्रोस्टेट क्यान्सर बिरामीको पहिचान हुन सक्यो र उनीहरूको उपचार तथा निगरानीमा यसको मुख्य भूमिका छ ।
पीएसए प्रोस्टेट क्यान्सर सूचक होइन तर क्यान्सर भएको अवस्थामा पीएसएको निकास रक्त सञ्चारमा बढी हुन्छ । पीएसए परीक्षणलाई तन्तु जाँच जस्तो प्रोस्टेट क्यान्सर छ वा छैन भनी ठोकुवा गर्न निर्णायक जाँचका रूपमा लिनुहुन्न । प्रोस्टेट क्यान्सर हो वा होइन भनी पछिल्लो निर्णय दिने र त्यो क्यान्सर कति खतरनाक र उग्र छ भनी थाहा पाउन निर्विवाद प्रोस्टेट तन्तु जाँचलाई मात्र निर्णायक मान्नुपर्छ ।
प्रोस्टेट क्यान्सर निदानका चार खम्बा ः
१) बिरामीको उमेर २) प्रोस्टेट ग्रन्थिको मलद्वारबाट औँलाले गरिने जाँच ३) पीएसए रक्त स्तरको परीक्षण
४) प्रोस्टेट ग्रन्थिको तन्तु जाँच ।
माथि उल्लेखित चार महरूवपूर्ण जाँचबाट क्यान्सरको निदान भएपछि अर्बुद प्रोस्टेट ग्रन्थिभित्रै सीमित छ वा बाहिर फैलिसकेको अवस्थामा छ त्यसको टुङ्गो लगाउन अरू विभिन्न परीक्षण पनि अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ । रक्त तथा मूत्र परीक्षण, एक्सरे, अल्ट्रासोनोग्राफी, सिटी स्क्यान, एमआरआई, सम्पूर्ण अस्थिपञ्जरको विकिरण जाँच इत्यादि सामान्यदेखि औधि जटिल परीक्षणको रोग निदान, उपचार, निगरानी तथा पूर्ण व्यवस्थापनमा आफ्नै महŒवपूर्ण स्थान छ ।
प्रोस्टेट क्यान्सर लक्षण ः
सुरु अवस्थामा यो रोग पूर्णरूपमा लक्षणहीन हुन्छ । रोग केही विकसित भएपछि देखापर्ने लक्षण पनि क्यान्सर विशेष भने हुँदैनन् । मूत्र वेगमा परेको असर सामान्य प्रोस्टेट हाइपर प्लाजिया, मूत्र सङ्क्रमण, मूत्रनलीको सङ्कुचन जस्ता अवस्थासँग पनि संलग्न हुन सक्छन् । तर पिसाब लागेपछि रोक्न गाह्रो हुने, मूत्र तथा वीर्यमा रगत देखापर्ने, वीर्य स्खलन पीडादायी हुनु, यौन इच्छामा कमी आउनु जस्ता लक्षण देखापरे प्रोस्टेट क्यान्सर त्यसको कारण होइन भनी यकिन गर्न आवश्यक परीक्षण गर्नुपर्छ । प्रोस्टेट क्यान्सर ग्रन्थिबाहिर फैलिएको अवस्थामा भने कम्मर तथा हड्डी दुख्ने, थोरै चोट लाग्दा पनि हड्डी भाँचिने, शरीरको तौल घट्ने, मिर्गौला फुल्ने, स्वाँस्वाँ हुने, मांसपेशी–मिर्गौलाको कार्यमा ह्रास आउने जस्ता अस्पष्ट तथा अनिश्चित लक्षण देखापर्न सक्छन् । छोटकरीमा भन्दा प्रोस्टेट क्यान्सरको मात्र लक्षण भनेर भन्न मिल्ने कुनै विशिष्ट लक्षण हुन्न । प्रोस्टेट क्यान्सर छ भनेर प्रमाणित गर्न प्रोस्टेट ग्रन्थिबाट लिएको तन्तुमा क्यान्सरग्रस्त कोशिकाको पहिचान हुनैपर्छ । आधुनिक स्वास्थ्य परीक्षणको उद्देश्य नै रोगलाई जति सक्यो सुरुमै पहिचान गर्नु र पछिल्लो वैज्ञानिक उपलब्धि अनुसार त्यसको व्यवस्थापन गर्नु हो ।
परामर्शको भूमिका ः
प्रोस्टेट क्यान्सर उपचार तथा व्यवस्थापनमा परामर्शको गहन भूमिका हुन्छ । बिरामीले बुझ्ने शब्दमा प्रोस्टेट क्यान्सरको जोखिमबारे परामर्श गर्नुपर्छ । ८० प्रतिशतभन्दा पनि बढी रोगीमा प्रोस्टेट अर्बुदले घातक रूप लिँदैन र रोग लामो समय लगाएर प्रगति गर्दछ । त्यस्ता बिरामीको मृत्यु अन्य जटिल रोगबाट हुने गर्दछ । २० प्रतिशतभन्दा कम प्रोस्टेट अर्बुद घातक हुन्छन् र यो रोगबाट नै बिरामीको मृत्यु हुन्छ । रोगीमा अर्बुदको विकास कसरी हुन्छ र कुन बिरामी क्यान्सर उन्मूलन गर्न सक्ने आमूल शल्यक्रिया वा विकिरण उपचारका निम्ति योग्य छ त्यसको छनोट परिपक्व तरिकाले हुनुपर्छ ।
उपचारका मुख्य विधि ः
रोग उन्मूलन उपचारः
अर्बुद उन्मूलन उपचारका योग्य उम्मेदवारको शल्यक्रियाबाट प्रोस्टेट र नजिकका केही अङ्ग पूर्णरूपमा छेदन गरिन्छ । यो उद्देश्यले शल्यक्रिया स्वीकार्न अयोग्य वा नचाहने रोगीलाई विकिरणको सहयोगले रोगग्रस्त प्रोस्टेट कोशिकालाई निष्प्रभावी तुल्याइन्छ ।
रोगको प्यालइटिभ (लघुकारी) उपचारः
अर्बुद ग्रन्थिबाट बाहिर निस्किसकेका बिरामीको उपचार लघुकारी मात्र हुन्छ । यस्तो उपचार विधिमा शल्य, हर्मोन, विकिरण तथा रसायन पर्दछन् । यी विधि एक्लै, दुई वा बढी तरिकाको सम्मिश्रणमा प्रयोग गरिन्छ । यस्ता आधुनिक तथा मूल्यवान् चिकित्सा बावजुद पनि केही समयपछि क्यान्सर प्रतिकूल परिवेश सामना गर्दै उग्ररूप लिएर फैलिने गर्छ । क्यान्सर उन्मूलन उपचारपछि रोगीको प्रत्याशित आयु कम्तीमा पनि १० वर्ष हुनुपर्दछ । प्रोस्टेट क्यान्सर रोगको उपचारको सिलसिलामा र तत्पश्चात् पनि सक्रिय निगरानी राख्नु नितान्त आवश्यक हुन्छ ।

(लेखक वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्ट हुनुहुन्छ । )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?