logo
२०८१ जेष्ठ ५ शनिवार



नसर्ने रोगको प्रकोप बढेकोमा चिन्ता

स्वास्थ्य |


नसर्ने रोगको प्रकोप बढेकोमा चिन्ता



गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २३ गते । नसर्ने रोगको प्रकोप बढिरहेकाले यसलाई नियन्त्रण गर्न नसके महामारीको रूप लिनसक्नेतर्फ विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, एक्सन नेपाल र द युनियनले आइतबार संयुक्त रूपमा आयोजना गरेको ‘नसर्ने रोग नियन्त्रण गर्नका लागि बहुपक्षीय पैरवी बैठक’ कार्यक्रममा नेपालमा नसर्ने रोगको खतरा दिनप्रतिदिन बढ्दै गएकाले समयमै सचेत हुन आग्रह गरिएको हो ।
कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाले विकासोन्मुख मुलुकमा नसर्ने रोगको प्रकोप बढिरहेको बताउनुभयो । उहाँले विकसित मुलकहरूमा नसर्ने रोग कम हुँदै गएको भए पनि नेपालजस्ता विकासोन्मुख देशमा नसर्ने रोग फैलँदो क्रममा रहेको बताउनुभयो ।
दस वर्षको अवधिलाई आधार मान्ने हो भने नसर्ने रोग भयावह स्थितिमा बढिरहेको भन्दै उहाँले नसर्ने रोग नियन्त्रणमा सरकारले सोच्न सकेन भने नसर्ने रोगको कारण मृत्यु हुनेको सङ्ख्या अत्यधिक हुने बताउनुभयो । हाल नेपालमा ६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगको कारण हुने गरेको तथ्याङ्क छ ।
कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले नसर्ने रोगमध्ये असाध्यै बढिरहेको क्यान्सर रोग नियन्त्रण गर्न सबैको प्रयास आवश्यक रहेको बताउनुभयो । उहाँले क्यान्सर लागिसकेपछि उपचार गर्न लाखौँ खर्चिनुभन्दा यसलाई रोक्नका लागि समयमै जनचेतना जगाएर स्वास्थ्यप्रति सजग हुनुपर्नेमा जोड दिनुभयो ।
मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराईले नसर्ने रोग मधुमेह ‘साइलेन्ट किलर’को रूपमा बढिरहेको भन्दै पछिल्लो समय मधुमेह रोग नलाग्ने परिवार पाउन मुस्किल भइरहेको बताउनुभयो । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव खगराज बरालले नसर्ने रोग परिवारभित्रबाटै निम्त्याएको बताउनुभयो । उहाँले बालबालिकालाई चाउचाउ, लेज, कुरमुरे, बिस्कुटजस्ता खाद्य पदार्थ किनिदिएर उनीहरूको जीवनशैली अव्यवस्थित आफ्नै अविभावकले गरेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?