काठमाडौँ, असोज ६ गते । दक्षिण एशियाली देशमा बाथरोगको अवस्था, पछिल्ला उपचार प्रविधि, समस्या तथा रोगबारे आमजनचेतनासमेत जगाउने ध्येयले बाथरोग चिकित्सक सम्मेलन आयोजना हुने भएको छ ।
नेपाल बाथरोग सङ्घद्वारा यही असोज १० र ११ गते हुने सो दुईदिने सम्मेलनमा दक्षिण एशियाली क्षेत्रका नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, भूटान, बङ्गलादेशलगायतका ५० विशेषज्ञ र नेपालका करीव १२५ चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता रहनेछ । नेपालमा पहिलो पटक आयोजित सो सम्मेलनले बाथरोगसम्बन्धी काठमाडाँै घोषणापत्रसमेत जारी गर्ने छ ।
सङ्घका कार्यसमिति सदस्य एवं बाथरोग विशेषज्ञ श्वेता नकर्मीका अनुसार सम्मेलनमा सहभागी देशले बाथरोग उपचारका अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपालमा कूल जनसङ्ख्याको दश प्रतिशत अर्थात् ३० लाख मानिसलाई कुनै न कुनै प्रकारका बाथरोगको समस्या भएको तीमध्ये करीब १५ प्रतिशत मात्र उपचारको पहुँचमा पुग्ने गरेका जनाइएको छ ।
करीब ७० प्रतिशत बाथरोगीले औषधि खाँदाखाँदै बीचमै छाड्ने र नेपालमा बाथरोग विशेषज्ञ चिकित्सक करीब ३० जना मात्र छन् । विशेषज्ञ चिकित्सक नकर्मी भन्नुहुन्छ, “बाथरोग एक सयभन्दा बढी प्रकारका छन्, रगत परीक्षण गराएपछि मात्र बाथरोगका पहिलो जानकारी प्राप्त हुन्छ ।”
नेपालमा बढी मात्रामा युरिक एसिड, हाडजोर्नी सुन्निने, हाड खिइने र मेरुदण्डको हाड दुख्ने बढी देखिने चिकित्सकले जनाएका छन् । साथै बालबालिकामा बढी मात्रमा जोर्नी दुख्ने बाथरोगबाट ग्रसित भएको पाइन्छ । हाडजोर्नी दुख्ने, सुन्निने कक्रक्क हुने, घुँडा, कुहिनो दुख्ने, सामान्य ज्वरो आउने लगायतका लक्षण बाथरोग हुन् । समयमा उपचार नभएमा आँखा, मिर्गाैला र मुटुलाई समेत असर पु¥याउने चिकित्सकले जनाएका छन् ।