logo
२०८१ मंसिर ६ बिहीवार



मासु खाँदा विचार गरौँ

स्वास्थ्य |


मासु खाँदा विचार गरौँ


प्राप्ति खतिवडा


नेपालमा मनाइने धेरै पर्वमध्ये दशैँ प्रमुख चाड हो । दशैँमा हामी सबैलाई रमाइलो गर्ने, टाढाटाढा भएका परिवारसँग भेटघाट गर्ने भनेर विद्यालयले बिदा दिएको हुन्छ । रमाइलो गर्नुपर्छ तर कति साथीलाई दशैँमा खसी काटेको हेर्न र मासु खान मन पर्ने रहेछ । हामीले यस्तो कुरामा थोरै भए पनि ध्यान दिन सक्यौँ भने आफैँलाई फाइदा हुन्छ । हामीले मासु खाइरहेका हुन्छौँ । मासु खान दशैँ नै आउन पर्दैन । दशैँमा मान्छेले धेरै जनावरलाई मारेर मासु खान्छन्  । म शाकाहारी भएकाले त्यस्तो कुरा सुन्दा पनि डर लाग्छ ।


हाम्रो संस्कार हो दशैँ तर हामीले यसलाई धेरै जनावरको हत्या नगरिकन पनि मनाउन सक्छौँ । धेरै जनावरलाई मारेर तिनीहरूको मासु खानुभन्दा घरको बारीमा रोपेको तरकारी खानु ठीक हुन्छ । चाडपर्व भनेर हामीले बढी नै खर्च गरेर मासु किन्ने गर्ने गर्छौं । यो राम्रो कुरा होइन । लगातार मासु खाँदा शरीरले पचाउन सक्दैन । हामीले साग, तरकारी अनि हरियो खानेकुरा खायौँ भने पाचन क्रिया राम्रो हुन्छ । हरियो सागपातले आँखा तेजिलो र दिमागको विकास गर्छ । दशैँमा मासु नै खानुपर्छ भन्ने छैन । हामीले जाने बुझेको कुरा हामीले हाम्रो ममीबाबालाई पनि भन्नुपर्छ र बाबाममीले पनि आफ्नो छोराछोरीको स्वास्थ्यमा ध्यान दिनुपर्छ ।


दशैँमा देशबाहिरबाट पनि जनावर तथा पशपक्षी ल्याइने रहेछ । यीमध्ये कुनै पशुपक्षी रोगी हुन पनि सक्छ । त्यसैले बजारको मासु खाँदा विचार पु¥याउनुपर्छ । मासु खाएर मात्र दशैँ रमाइलो हुने होइन  । हामीले दशैँलाई धेरै कुराबाट रमाइलो बनाउन सक्छौँ । नयाँनयाँ ठाउँ घुम्न जाने, पिङ खेल्ने, चङ्गा उडाउने, लालमोहन, दही, रसबरी अनि मिठाईका धेरै परिकार घरमै बनाएर खाने गरेर पनि रमाइलो गर्न सकिन्छ । हामीले खानेकुरामा मात्र बढी ध्यान दिनु हुँदैन । सकेसम्म शरीरले पचाउनसक्ने खानेकुरामा ध्यान दिनुपर्छ । हामी स्वस्थ भए दशैँ पनि रमाइलो हुन्छ । नत्र बिरामी भयौँ भने परिवारलाई नै दुःख हुन्छ । - मुना असोज २०७६

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?