logo
२०८१ मंसिर ६ बिहीवार



स्क्रब टाइफस लागेपछि समयमै उपचार गर्नुपर्ने

स्वास्थ्य |


स्क्रब टाइफस लागेपछि समयमै उपचार गर्नुपर्ने



सरोज ढुङ्गेल

काठमाडौँ, असोज १९ गते । काठमाडौँ उपत्यकालगायत देशका ६५ जिल्लामा यतिखेर स्क्रब टाइफस फैलिएको छ । मुसामा हुने किर्नाबाट सर्ने स्क्रब टाइफस परजीवीको सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भइसकेको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत वैशाखयता ४० जना बिरामीमा स्क्रब टाइफस देखिएको थियो । गम्भीर भई भर्ना भएका उनीहरूको उपचारपछि डिस्चार्ज गरिसकिएको छ । अहिले सरुवा रोग अस्पतालमा तीन जना मात्र भर्ना भई
उपचाररत छन् ।
मुसामा हुने परजीवीलाई एक प्रकारको माइट जातिको सूक्ष्म किराको माध्यामले स्क्रब टाइफस मानिसमा सर्ने गर्दछ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार पहिलो पटक सन् १९३० मा जापानमा देखा परेको थियो । सन् १९४४ तिर दोस्रो विश्वयुद्धमा अमेरिकी सेनामा पनि स्क्रब टाइफस देखा परेको थियो । यो रोगको किटाणु बोक्ने माइट झाडी तथा घाँसमा पाइने हुनाले विदेशमा युद्धमा खटिएका सेनामा देखा परेको थियो ।
डा. पुनले नेपालमा सन् २००४ मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रकाशित गरेको अनुसन्धानात्मक आर्टिकलमा ज्वरो आएकामध्ये तीन प्रतिशतलाई स्क्रब टाइफस हुने गरेको लेख प्रकाशित भएको उल्लेख गर्नुभयो । सन् २०१५ मा धरानस्थित बीपी कोइराला मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठ जना बालबालिका स्क्रब टाइफसका कारण मृत्यु भएको थियो । त्यसपछि नेपालमा स्क्रब टाइफसबारे संवेदनशील भएको पाइन्छ ।
पुनका अनुसार नेपालमा मुसाले यो रोग सारेको पाइएको छ । झाडीमा बस्ने मुसाको कानमा पाइने उक्त माइट झाडप्मा सर्ने र सो झाडीमा मानिस जाँदा माइटले मानिसलाई टोकेको कारणले गर्दा यो रोग भएको पाइएको छ ।

लक्षण
ज्वरो आउनु
टाउको दुख्नु
खोकी लाग्नु
मांसपेशी दुख्नु
पाचन प्रक्रियामा गडबढी हुनु

किर्नाले टोकेको वरिपरि शरीरमा रातो बिमिरा देखा पर्नु ज्वरो अत्यधिक आउनु स्क्रब टाइफसका प्रमुख कारण हुन् ।
डा. पुनले समयमा नै उपचार नभएमा बिरामी गम्भीर बन्दै जाने र अस्पतालमा भर्ना हुनुपर्ने अवस्था आउन सक्ने जानकारी दिनुभयो । उहाँले रोग समयमा पत्ता नलागेमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गमा सङ्क्रमण फैलिई बिरामीको मृत्युसमेत हुन सक्ने बताउनुभयो ।

उपचार
स्क्रब टाइफस रोग समयमा नै पहिचान गरी उपचार गर्न सकिन्छ । औषधिका रूपमा एन्टिबायोटिक प्रयोग गर्नुपर्ने हुन्छ । डा. पुनले डक्सिसाइक्लिन नामक एन्टिबायोटिक प्रयोग गरेमा २४ घण्टाभित्र बिरामीलाई ज्वरो आउन छाड्ने जानकारी दिनुभयो । उक्त एन्टिबायोटिक गर्भवती महिला र आठ वर्षभन्दा कम उमेरका बालबालिकाहरूले भने प्रयोग गर्र्न हँुदैन । उनीहरूलाई एजिथ्रोमाइसिन नामक औषधि दिइन्छ । उहाँले एक औषधि १० दिन प्रयोग गर्दा यो रोग ठीक हुने बताउनुभयो ।

रोकथाम
किटाणु सार्ने माइटको सम्पर्कबाट टाढा रहनु नै यसको प्रमुख रोकथाम हो । यसका लागि घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, लामो बुट लगाउने, हातमा पन्जा लगाउने र त्यहाँ बस्नु पर्दा केही ओछ्याएर बस्ने गर्नुपर्छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?