सरोज ढुङ्गेल
काठमाडौँ, मङ्सिर ४ गते । नेपालमा सुर्तीजन्य पदार्थ सेवनकर्तामा मात्र श्वासप्रश्वास (दम)को रोग होइन, सुर्ती सेवन नगरेकाहरूमा समेत दमका रोगीहरू रहेको पाइएको छ ।
चुरोट खानेहरूभन्दा घरमा हुने वायु प्रदूषणले गर्दा मानिसमा श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने गरेको छ । वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ डा. राजु पङ्गेनीले प्रदूषणकै कारण नेपालमा दमरोग बढेको बताउनुभयो । उहाँले प्रदूषणले उपत्यकामा दमरोग बिरामीको सङ्ख्यामा वृद्धि हँुदै गएको उल्लेख गर्नुभयो । डा. पङ्गेनीका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, शिक्षण अस्पताल, कान्ति बालअस्पताल लगायतका अस्पतालहरूमा दमका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
डा. पङ्गेनीले सहरी क्षेत्रका १५ प्रतिशत जनसङ्ख्यामा दमसम्बन्धी रोग लागेको जानकारी दिँदै काठमाडौँका मुख्य अस्पतालमा दैनिक १५ देखि २५ जना व्यक्ति दमको समस्या लिएर आउने गरेको बताउनुभयो । शिक्षण अस्पतालमा दैनिक ८० जनासम्म बिरामी आउने गरेका छन् । यसअघि भक्तपुरमा तीन वर्ष लगाएर गरिएको सर्वेक्षणमा समेत १५ प्रतिशत मानिसलाई दमरोग लागेको थियो ।
तथ्याङ्कअनुसार विश्वमा २५ करोड मानिस दमरोगी रहेको पाइएको छ । तीमध्ये प्रतिवर्ष ३० लाख मानिसको दम तथा खोकीकै कारण ज्यान जाने गरेको छ । यस्ता रोगीहरूमध्ये ९० प्रतिशत नेपालजस्तो अल्पविकसित वा विकासशील मुलुकका नागरिक छन् ।
विश्व रोगभार सर्वेक्षण २०१६ ले नेपालमा नौ लाख ६० हजार मानिसमा दमका बिरामी रहेको जनाएको छ । विश्वमा प्रतिलाख जनसङ्ख्यामा तीन हजार छ सय दमखोकीका बिरामी छन् भने नेपालमा चार हजार आठ सयको सङ्ख्यामा छन् ।
त्यसैगरी नेपालमा प्रतिवर्ष १६ हजार व्यक्तिको मृत्यु दमखोकीकै कारण हुने गर्दछ । त्यसमा पनि प्रतिलाखमा १२० महिला र १०३ पुरुष दम तथा खोकीकै कारणले मृत्यु भइरहेको हुन्छ । डा. पङ्गेनीले दमखोकीका कारण मृत्यु हुने महिलाको सङ्ख्या बढिरहेको बताउनुभयो । तथ्याङ्कअनुसार नेपालमा दमको समस्या अत्यधिक रहेको छ । दमखोकी रोग लागिसकेपछि निको नहुने हुँदा अस्वस्थ मानिसको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ ।
डा. पङ्गेनीले ४५ वर्षमाथिका व्यक्तिलाई दमरोग लाग्न सुरु गर्ने बताउनुभयो । बढी उमेरका मानिसमा दमखोकीको समस्या बढी हुने र पाका उमेरका मानिसको सङ्ख्या पनि थपिँदै गएकाले दमखोकीको बिरामी बढेका छन् ।
वरिष्ठ छातीरोग विशेषज्ञ डा. अङ्शेष ढुङ्गानाले प्रदूषणकै कारण दमरोगका बिरामीको सङ्ख्या बढ्दै गएको बताउनुभयो । उहाँले दम तथा श्वासप्रश्वास रोगको प्रमुख कारक तìव धूमपान र वायु प्रदूषण मुख्य रहेको बताउनुभयो । उहाँले धूमपानले गर्ने असरमध्ये दमखोकी एक प्रमुख समस्या रहेको जानकारी दिनुभयो । उहाँले २७ प्रतिशत पुरुष र ६ प्रतिशत महिलाले धूमपान गर्ने गरेको जानकारी दिनुभयो ।
डा. पङ्गेनीका अनुसार वातावरणीय प्रदूषण, धुवाँ धुलो, चिसो मौसममा दमका बिरामी बढ्छन् । पहिले जाडो मौसममा मात्र दमका रोगी उपचारका लागि आउने गरेकोमा पछिल्लो समय १२ महिना दमका रोगी अस्पताल आउने गरेका छन् । उहाँले प्रदूषण, धुवाँ, धुलो, घरभित्रको धुवाँ–धुलो, गाडीबाट निस्कने धुवाँले समेत दम रोगका बिरामी बढेको जानकारी दिँदै दमबाट बच्न प्रदूषणबाट बच्नुपर्ने सुझाव दिनुभयो । डा. पङ्गेनीले स्थायी प्रकृतिको दम ४० वर्ष कटिसकेपछि देखिनसक्ने भन्दै १५ वर्षभन्दा तलका बालबालिकालाई पनि दमरोग देखिने बताउनुभयो । १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि अस्थायी किसिमको दमरोग देखिने बताउनुभयो ।
वंशाणुगत कारण पनि दमरोगका बिरामी बढ्ने गर्दछन् । पङ्गेनीले मिल, मैदा, कलकारखाना, उद्योग, धुलो र धुवाँमा काम गर्ने मानिसमा पनि दमको समस्या देखिनसक्ने जानकारी दिनुभयो । चुरोट खानेलाई मात्र होइन, मन्दिरमा रहेका पुजारी, घरमा धूप बालेर पूजा गर्ने महिलामा समेत दमरोग देखापर्ने भन्दै सतर्क रहन सुझाव दिनुभयो ।
उहाँले एक प्याकेट धूपबाट निस्कने धुवाँ एक सय खिल्ली चुरोटभन्दा बढी हानिकारक हुने जानकारी पनि दिनुभयो । उहाँले निरन्तर चुरोट खाने व्यक्तिलाई कालान्तारमा दमको समस्या हुने गरेको जानकारी दिनुभयो । हिमाली प्रदेशमा दाउरा र गुइँठाले खाना पकाउने गरेका भन्दै त्यस क्षेत्रका मानिसमध्ये ४० प्रतिशतलाई दमको समस्या देखा पर्ने गरेको बताउनुभयो । यसैबीच बुधबार विश्व सीओपीडी दिवस मनाइँदैछ । ‘सबै मिली दीर्घ श्वासप्रश्वास रोग अन्त्य गराँै’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो ।