logo
२०८१ असोज ४ शुक्रवार



क्यान्सरको शल्यक्रिया गर्दा बिरामीको शरीरमा आगो लागेर मृत्यु

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


क्यान्सरको शल्यक्रिया गर्दा बिरामीको शरीरमा आगो लागेर मृत्यु


एजेन्सी
काठमाडौं, पुस १५ गते । रोमानियाको एक अस्पतालमा शल्यक्रिया गर्नुअघि आगो लागेर एक बिरामीको मृत्यु भएको छ । राजधानी बूकरेस्टस्थित फ्लोर्यास्का अस्पतालमा ६६ वर्षीया महिलाको मृत्यु भएको हो ।
शल्यक्रिया गर्नुअघि महिलाको शरीरमा अल्कोहलयुक्त ‘डिसइन्फेक्टेन्ट’ प्रयोग गरिएको थियो । चिकित्सकले विद्युतीय चक्कु प्रयोग गरी शल्यक्रिया गर्दा अल्कोहलले आगो टिप्दा अचेत अवस्थामा राखिएको महिलाको शरीरभरि आगो फैलियो । उहाँलाई ‘प्यान्क्रियाज’को क्यान्सर भएको थियो । डिसेम्बर २२ मा उहाँको शल्यक्रिया गरिएको थियो ।
आगोले शरीरको ४० प्रतिशत भाग जलेको महिलाको अस्पतालमा उपचारकै क्रममा एक सातापछि देहान्त हुन गयो । घटना सार्वजनिक भएपछि छानबीन सुरु गरिएको छ । मृतकका आफन्तले अस्पतालले दुर्घटना मात्रै भएको र विस्तृत विवरण नदिएको रोमानियाका सञ्चारमाध्यमहरुलाई बताउनुभयो ।
रोमानियाका स्वास्थ्यमन्त्री भिक्टर कोस्टाकले भने सत्य तथ्य पत्ता लगाउन आफू र मन्त्रालय दुवैले सहकार्य गरेको बताउनुभयो । उहाँले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो । रोमानिया मन्त्रीपरिषद्का अर्का सदस्यले भने शल्यक्रियामा अल्कोहलमा आधारित ‘डिसइन्फेक्टेन्ट’को प्रयोगमा प्रतिबन्ध लगाइएको शल्यक्रियामा संलग्न चिकित्सकलाई जानकारी हुनुपर्ने प्रतिक्रिया दिनुभयो ।
बीबीसीका अनुसार यूरोपेली राष्ट्र रोमानियामा सरकारले स्वास्थ्य उपचारमा निकै कम खर्चिदै आएको छ । रोमानियामा बाल मृत्यु दर उच्च रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?