गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ७ गते । काठमाडौं महानगरपालिका र नेपाली सेनाबीच स्वास्थ्य सेवा प्रवाह गर्ने सम्बन्धको सम्झौता भएको एक महिना पछि सेवा सुरु भएको छ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मङ्गलबार श्री वीरेन्द्र सैनिक अस्पताल छाउनीमा वडा नम्बर १५ निवासी ६२ वर्षिया चन्द्रादेवी महर्जनको उपचारका लागि हेमोडाइलोसिस मेसिन खोली सेवाको शुभारम्भ गर्नुभयो ।
नेपाली सेनासँग महानगरपालिकाले गएको पुस २ गते हेमोडाईलासिस सेवाका लागि आवश्यक मेसिन, भौतिक पूर्वाधार र जनशक्ति थप गर्नका लागि तीन करोड रुपियाँ सहयोग गर्ने सम्झौता गरेको थियो ।
सेवाको शुभारम्भ गर्दै मेयर शाक्यले आगामी दिनमा स्वास्थ्य सेवाका लागि महानगरपालिकाले थप सहयोग गर्दै जाने बताउनुभयो । उहाँले महानगरपालिकाले पूर्वाधार र सम्पदाको क्षेत्रमा मात्र नभई मानवीय सेवाका काममा पनि उत्तिकै चासो राखेको भन्दै यस्ता सहयोगलाई निरन्तरता दिने प्रष्ट पार्नुभयो ।
म्हानगरको सहयोगमा हेमोडाइलसिसको पहिलो सेवा लिनु भएकी महर्जनले खुसी व्यक्त गर्नुभयो । सम्झौताअनुसार नै नेपाली सेना अन्तर्गतको श्री वीरेन्द्र अस्पताल, छाउनीमा उपलब्ध स्रोत साधनबाटै पहिलो चरणमा चार जनालाई सेवा दिने अस्पतालले जानकारी दिएको छ । जनशक्ति र उपकरण थप गरी सिफ्ट पनि थप भएपछि दैनिक नौ देखि १२ जनासम्म बिरामीको लागि हेमोडाइलासिस सेवा दिने अस्पतालले जनाएको छ । बिरामीले हेमोडाईलासिस सेवा लिनका लागि सहरी स्वास्थ्य महाशाखाबाट सिफारिस लिनुपर्ने छ ।
सम्झौताको अवधि सम्झौता भएको मितिले पाँच बर्षको हुने उल्ल्ेख छ भने दुबै पक्षको आपसी समझदारीमा भने सम्झौताको म्याद थप हुन सक्ने पनि उल्लेख छ । महानगरपालिकाले केही महिना अघि मात्रै बिरामीको उपचारका लागि आवश्यक अक्सिजन आपूर्ति गर्न अक्सिजन प्लाण्ट जडानका लागि कान्ति बाल अस्पताललाई दुई करोड रुपियाँ दिने सम्झौता गरेको थियो ।